Wednesday, December 31, 2008

टेलिकममा भीड नगरौ, बैँकमा गरौँ


केही दिन अगाडि पत्रपत्रिकामा नेपाल टेलिकमको विज्ञापन छापियो । त्यसो त पत्रपत्रिकामा टेलिकमको विज्ञापन नछापिएको दिन नै हुँदैन भने पनि हुन्छ । विज्ञापन बजारमा टेलिकमले निक्कै मोटो योगदान दिएको कुरा घामजस्तै र्छलग छ । वर्षा अर्बौँ रुपियाँको, हजारौँ विज्ञापन छापिन्छन् टेलिकमको । तर चासो किन त्यही एउटा विज्ञापनको -
कारण स्पष्ट छ टेलिकमको सेवा लिने लाखौँ सेवाग्राहीमध्ये यो पंक्तिकार पनि एक हो । एउटा सेवाग्राहीको मर्ममा ठाडै प्रहार गर्ने विज्ञापन टेलिकमले विभिन्न पत्रपत्रिकामा छपायो । विज्ञापनको पेटबोलीमा भनिएको छ टेलिकमको काउण्टरहरुमा भीड नगरौ, बैँकमार्फ् टेलिफोनको महसुल भुक्तानी गरौँ । टेलिकमका सेवाग्राही सबैलाई थाहा भएकै कुरा हो उनीहरुले टेलिकमबाट सेवा लिएका हुन् बैँकबाट होइन । उनीहरु टेलिकमका सेवाग्राही हुन् बैँकका होइनन् ।
मारवाडी साहुजीहरुको पसल हुँदो अहिले पनि दिव्यवाणी टाँगिएको हुन्छ ग्राहक भनेका भगवान हुन् । तर टेलिकम भने आफ्ना ग्राहकलाई अनावश्यक ठान्छ । ग्राहकहरुलाई आफ्नो काउण्टरमा बिल तिर्न नआउनु भन्छ । उल्टो अर्कै कम्पनीमा गएर बिल तिर्नु पो भन्छ । यो त मेरो घरमा खानु छिमेकीको बारीमा गएर आची गर्नु भनेजस्तो भएन र - बैँकमा चाहिँ भीड नै नहुने भए त ठीकै थियो । त्यहाँ पनि लामो लाइन नछिचोलि काउण्टरमा पुग्नु भाग्यशाली चिठ्ठा पर्नुजस्तै हो । टेलिकम आफैँले चाहिँ आफ्ना ग्राहकलाई आफ्नो काउण्टरमा नआउनु भनेर उर्दी जारी गर्नसक्छ भने नाफा कमाउन बसेका ती निजी बैँकहरुलाई लाखौँको कारोबार गर्ने आफ्ना ज्वाइँजस्ता ग्राहक छोडेर सयरहजार रुपियाँ बुझाउने टेलिकमका नाथे ग्राहकलाई कति दिनसम्म पुछ्लान र - भोलि यिनले पनि एउटा ए फोर पेपरमा प्रिण्ट गरेर ढोकैमा टाँसिदिनेछन् टेलिकमको पैसा बुझ्ने सेवा बन्द गरिएको छ कृपया टेलिकममै बुझाउनुहोला असुविधाका लागि क्षमाप्रार्थी छौँ । आखिर बैँकहरु टेलिकमका ग्राहकप्रति उत्तरदायी बन्नुपर्ने कुनै कारण नै पनि त कहाँ छ र -
टेलिकमलाई यस्तो विज्ञापन छपाउने आइडिया चाहिँ कसले दियो । यसलाई बैँकबाट पनि टेलिफोनको बिल बुझाउन सकिन्छ भनेर पनि त छपाउन सकिन्थ्यो । त्यस्तरी छपाउँदा टेलिकमको के चाहिँ बिग्रिन्थ्यो - अर्को कुरा बैँकबाट बिल बुझाउने चेतना र क्षमता कति ग्राहकको होला । दशकौँदेखि टेलिकमको ढोका धाएका कतिले पो देखेका होलान् र बैँक - टेलिकममा महसुल बुझाउँदा जति ढुक्क हुन्थ्यो बैँकमा बुझाउँदा हुँदैन । यो पंक्तिकार स्वयम्ले यस्तो अनुभूति गर्न पाएको छ । कहिले कहिले टेलिकम जान नपाउँदा पंक्तिकार बैँकमार्फ् महसुल भुक्तानी गर्छ तर घण्टौँसम्म, कहिले त केहीदिनसम्म बा नाम र खाता नम्बर मिलेन कि भन्ने शंका मनमा लिन बाध्य हुनुपरेको छ ।
त्यसो त भन्न जति सजिलो भए पनि बैँकमार्फ् गरिएको भुक्तानीको तुरुन्तै कार्यान्वयन भने भएको पाइँदैन । पंक्तिकारकै अनुभवमा भन्नुपर्दा टेलिकममा महसुल बुुझाएको दुइघण्टापछि खुल्ने फोन बैँकमा महसुल बुझाएको केहीदिन बित्दासम्म पनि खुल्दैन । दुनियाँ गतिशील छ । सबैलाई समयको गति पक्रनु छ । पैसा बुझाउनासाथ टेलिकमले फोन खोलिदिनुपर्ने हो तर घण्टौँसम्म नखोलिदिँदा ग्राहकमा परेको हानीको क्षतिपूर्ति कसले दिने -
त्यसो त टेलिकमको सफ्टवेयरले पनि कहिलेकाहीँ विचित्रै गर्छ । अघिल्लो दिन फोन वान् वे बन्द गर्छ भोलिपल्ट टू वे बन्द । कहिले त बिना सूचना एकैपटक टू वे बन्द । प्रिपेड मोवाइल बोक्नेको पनि हुमत लिएको छ टेलिकमले । ब्यालेन्स २० रुपियाँ भन्दा ओरालो लाग्यो कि फोन आए, गए पिच्छे, एसएमएस पाए, पठाए पिच्छे रिचार्ज गरिहाल्न सन्देस पठाउँछ । रिचार्ज गरेन भने फोन गर्न, एसएमस गर्न पाइदैन । ग्राहकलाई यो थाहा भएकै कुरा हो । जानकारी दिन एकपटक भने पुग्छ पटकैपिच्छे यसरी साहुको दामासाहीमा परेको आसामीजस्तो गरी कडिकडाउ गर्न मिल्छ -
यो पंक्तिकारको आइडिया त फरक छ । टेलिकम, विद्युत प्राधिकरण, खानेपानी अड्डाहरुले अब पहिलेजस्तो ग्राहकबाट महसुल असुल्ने तरिका विघटन गर्नुपर्छ । पहिलेजस्तो ग्राहक अड्डा अड्डा धाउने होइन अब ग्राहकको दैलोदैलो, घरघरमा अड्डाका प्रतिनिधि गएर महसुल संकलन गर्नुपर्छ । त्यसोगर्दा महसुल असुली प्रभावकारी बन्ने त छँदैछ बेरोजगार बनेका लाखौँ युवाले प्राण बचाइराख्ने त्यान्द्रो पनि पाउने छन् । कस्तो लाग्यो त यो आइडिया तपाईलाई -

2 comments:

Chandra Khaki said...

मित्र नरेश, तपाईंको आइडिया गजब छ ! नेपालका केही केबल टेलिभिजनले पनि त्यसरी नै घरदैलो ग्राहक अभियान सञ्चालन गरिसकेको छ । टेलिकमले पनि त्यसो गरे अति उत्तम । बरु उसले १०, २० रुपियाँ सर्भिस चार्ज जोडे पनि मानिसले गाह्रो नमान्लान्, टेलिकम वा बैंकको काउन्टरमा गएर घण्टौं समय बर्बाद गर्नुभन्दा ! यो आइडियालाई व्यापक फैलाउन तपाईं जस्तो सञ्चारकर्मीले अरु माध्यम पनि प्रयोग पो गर्ने हो कि ?

मनु ठाडा मगर (MANU) said...

हरे नरेश दाइ यो आइडिया टेलिकम का मान्छे अनि अरु बुज्रुक् लाइ आइ दिएको भये त भै हाल्ने थिओ नि यो नेपाल को यो अबस्था नै आउने थिअन नि तै पनि गजब् छ बाइ idea त