विहीबार बिहानै मगर आमसञ्चारकर्मी समाजका उपाध्यक्ष दिलीप थापामगरले फोन गर्नुभयो । भन्न्भयो – खरिपाटीमा पसल गर्ने एक जना मगरको छोरालाई मोटरसाइकलले हानेछ । मोटरसाइकल चलाउनेको लाइसेन्स पनि रहेनछ तर पुलिसले उपचार खर्च पनि नतिराई छोडेछ । लौन २०/२५ जना मगर विद्यार्थी जम्मा गर्नुपर्यो । त्यो भक्तपुर जाने बाटो बन्द गर्नुपर्यो । सकिन्छ कि सकिँदैन ?
कुरा सुन्दा एउटा पीडित मगरले न्याय नपाएको पत्ता लाग्न गारो भएन । पहिले मगर विद्यार्थी संघको महासचिव पनि भइसकेकोले २०/२५ जना विद्यार्थी जम्मा गर्नु पनि ठूलो कुरा थिएन । विद्यार्थी सहजै जम्मा गर्न सकिने वचन दिएँ थापालाई । पोहोर साल कलंकीमा मगर विद्यार्थीको पहलमा नेपाल बन्द गराएको अनुभव पनि छँदैथियो ।
भन्नलाई सहजै भनिदिएँ तर मनमा चयन भएन । सानो कामका लागि पनि नेपाल बन्द नै गर्नुपर्ने अवस्था किन ? बन्दबाट जनजीवनमा पर्ने असरका बारेमा पनि मलाई राम्रैसँग थाहा थियो । कुनै समय बन्द गर्ने लाममा सक्रीय भए पनि अहिले त्यस्तो बन्दले जनतालाई नराम्रो नै गर्छ भन्ने लाग्छ । तर बन्दको नराम्रो पक्ष मात्र हेरेर पनि यहाँ भएन । अन्यायमा परेको एउटा मगरलाई त्यतिकै छोड्न पनि सजातिय हुनुको कर्तव्यले दिएन । परेँ म दोधारमा । धर्मसंकटमा ।
साँझमा फेरि कुरा गर्ने टुङ्गो गर्दै फोनवार्ता सकियो । हामी जत्तिको बुझ्नेहरुले बन्द गर्न हुने कि नहुने अन्तर्द्धन्द्ध मनमा खेलाउँदै दिन बित्यो । धन्य साँझमा दिलीपको फोन आएन । मतलव थप एउटा बन्द गर्नुपरेन । सोचेँ जे कामका लागि पनि बन्द गराउनै पर्ने परिपाटीको अन्त्य कहिले होला ?
शुक्रबार बिहानै थाहा भयो हामीले नगरे पनि अर्कै समूहले भक्तपुर र काठमान्डू जोड्ने जडिबुटीमै दिनभर बन्द गरेछ । अब पो चिन्ता लाग्न थाल्यो ती मगर भाइले चाहिँ न्याय पाए कि पाएनन् ? अझै पाएका रहेनछन् भने आइतबारतिर बन्द गर्ने कि ? के गर्ने ? अब अर्को धर्मसंकटले पो घेर्यो ।
No comments:
Post a Comment