Tuesday, December 16, 2008

मजा रक एन्ड रोलको

प्रकृतिले ठगेर हो वा पुरस्कृत गरेर हो जन्म भयो सुदूरपूर्वको ताप्लेजुङ जिल्लाको कुनै पाखोमा । जहाँ मेला पातमा नाचिन्थ्यो पालाम । यानेकि धान नाच । महिला पुरुष आपसमा हात समाएर लेघ्रो तान्दै गीत गाउँदै वरिपरि घुम्थे घडीको सूई घुमे झैँ । स्कूलतिर कार्यक्रम र तिहारमा झ्याउरे र लोकगीत गाइन्थ्यो त्यसैमा नाचिन्थ्यो । बाद्यवादनमा हुन्थे हारमोनियम मुरली मादल खैजडी मुर्चुङ्गा बिनायो । जरो यसैमा गाडियो ।

रेडियोको प्रभावमा परेर कुनै समय शास्त्रीय संगीतको नियमित श्रोता भइयो नबुझेरै । साथी भाइको संगतले कुनै समय स्वदेश गानहरु नबिराइ सुन्ने गरिन्थ्यो । लोकगीत आधुनिक गीत र फिलिमका गीत त स्वत मनपरिहाल्थे । अजीव के भयो भने हिन्दी गीत जति सुने पनि सुनिसक्ने बित्तिकै बिर्सिहालिने । अंग्रेजी गीत बज्ने बेलामा रेडियोको स्टेशन अर्कैतिर बटारिन्थ्यो ।

१३ वर्ष ताप्लेजुङको बसाइ तीन वर्ष झापाको बसाइ पछि सरियो काठमाडौँ । महानगरमा पनि संगत भयो गाउँबाटै सरेकाहरुसित । दौँतरीहरु कोही आफैँ बजाउँथे कोही आफैँ गाउँथे ननाच्ने त कोही नै थिएन । तिनीहरु अधिकांश लोकगीतमा रम्थे । लोकपपमा रम्थे । धेरै माथि गए आधुनिकसम्म उक्लन्थे । करिब एक दशकको बसाइमा पनि उनीहरुको घेराबन्दी तोड्न सकिएन । विरलै डिस्कोथेकहरुमा ढिम्किँदा पनि नचाइको ताल हुन्थ्यो लोकलयमै ।

कसैकसैले रक गीतको कुरा गर्दा पनि के यस्तो गीत मन पराइरहेको होलाजस्तो लाग्थ्यो । पेटको विकार निखार्न कनेको जस्तो पनि गीत हुन्छ यस्तै लाग्थ्यो । रक भनेको हिप्पीहरुले सुन्ने गीत हो । ड्रगिस्ट र ट्यापेहरुले मन पराउने भाका हो । मेरो बुझाइ थियो यस्तै । केही दिनअघि नेपाल बैँकर्स एसोसिएसनका अध्यक्ष तथा बैँक अफ काठमान्डूका प्रबन्ध निर्देशक राधेश पन्तले दैनिक एक घन्टा रक गीत सुन्ने र बेला बेलामा गाउने गरेको पत्रिकामा छापिएपछि मेरो पुरानो सोचाइमा एक सय अस्सी डिग्रीको फेरबदल आयो । प्रश्न उठ्यो वास्तवमा रकमा त्यस्तो के छ ।

२०६५ को तिहारको गोरुपूजाको दिन थियो । मित्र ओम थापाकहाँ दिउँसै चुस्कीको रसस्वादन गरी पल्टिरहेको थिएँ । कतिखेर आँखा लागेछन् । ब्यूँझदा बाहिर एक हूल रक गीत गाइरहेका रहेछन् । लाग्यो लौ हेरौ न त के रैछ र रकमा । उठेँ झ्यालको पर्दा हटाएर नियालेँ । निकै जोशिलो लाग्यो । रहर अझ पुगेन । ढोकाबाट बाहिर निस्केँ र ड्रमरको नजिक पुगेँ । विभिन्न ताल बदलिँदै कार्यक्रम बढ्दै थियो । ड्रमर झन् उत्तेजित हुँदै ड्रम ठोक्दै थिए । एउटा गीत सकिने बित्तिकै उनी रुमाल झिक्थे र पसिना पुस्थे । अरु जे जति थिए सबै दिल खुलेर सहभागी भइरहेका थिए । नाच्नेहरु बजाउनेहरु गाउनेहरु सबै सबै । उनीहरुले पूरै शक्ति खर्च गरेका थिए । मलाई मजा लागेको पक्ष नै यही थियो । ड्रमरले ड्रमलाई हरेक पटक फुटाउँला झैँ गरेर ठोक्दै थिए । अरुको पनि अवस्था यस्तै थियो ।

यति हेरेपछि मलाई पनि रकले छोयो । यसरी दिल खोलेर गाउनु नाच्नु बजाउनु वास्तवमै मजा नभएर के हुन्छ ।

No comments: