Wednesday, December 31, 2008

धन्य फेसबुक, धन्य म

बहिनी घर गएको आज पाँचौँ दिन । शुक्रबार बहिनीले मेरो साथ छाड्दा लागेको थियो अब म बेबारिस हुने भएँ । कतिबेला घर जाने, कतिबेला खाना पकाउने कतिबेला खाने, कतिबेला काम गर्ने, कतिबेला सुत्ने - मेरो व्यक्तिगत व्यवस्थापन नै डाबाडोल भइहाल्ला कि जस्तो लागेको थियो । पहिलो दिन आफैँ खाना पकाएर खानुपर्दा निक्कै अलमलिएको थिएँ म । कुन सामान कता कुन समान कता मात्र होइन कुन पहिले गर्नुपर्छ कुन पछि गर्नुपर्छ समेत झुक्किएको थिएँ ।
साथीहरु हेलिना र सुष्माले केही समयलाई त हो नि भनेर मलाई बाहिरै खान सल्लाह पनि दिएका थिए । तपाईलाई धेरै धपेडी हुने भयो भनेर चिन्ता पनि गरेका थिए । उनीहरुले माया गरेर दिएको सल्लाहले म झन् आत्तिएको थिएँ।
आज समेत चौथो दिन हो मैले घरैमा आफैले पकाएर खाएको । पहिलो दिन विरक्त लागेपछि दोस्रो दिन एकजना बहिनी कहाँ शरण परेको थिएँ । भोलिपल्ट बिहानै मलाई परेको मर्का फेसबुकमा पेश गरेको पनि थिएँ । फेसबुकमा पोस्ट गर्नुअघि दोमन भएको थियो । पोस्ट गरुँ कि नगरुँ - गर्दा आफै अल्छि ठहरिने नगरुँ मनमा लागेको जो छ । अन्ततः फेसबुकमा पोस्ट भयो । बदलामा शुभेच्छुकहरुबाट अमूल्य सुझाव पनि पाएँ ।
अग्रज दाइहरु, साथीहरुबाट मैले फेसबुकमा जे जस्तो सल्लाह र प्रतिक्रिया पाएँ । त्यसप्रति म असाध्यै ऋणि छु । ती सबैले मलाई आफैँ पकाएर खान मात्र होइन आफ्ना आवश्यकताका कामहरु सकेसम्म आफैँ गर्न प्रोत्साहित गरेको छ । आज दिल्लीबाट सहकर्मी ओम थापा नेपाल र्फकनुभयो । बेलुका साढे नौ बजे उनलाई अनामनगर छोड्दा उनले आज यतै बसौँ राति गएर एक्लैलाई के भात पकाइरहनु भनेर निक्कै कर गरेका थिए । उसो त उनले दिल्ली छँदै फेसबुकमा मेरो बिलौना पढेर आफू आएरपछि सबै ठीक्क भइहाल्ने आश्वासन पनि दिएका थिए । तर किन किन फेसबुकमा भात खुवाउने इष्टमित्रको खोजी गर्ने ममा उनीहकाँ बस्न इच्छा लागेन । घरै गएरै आफैँ पकाएर खानु नै बेस लाग्यो ।
अचेल खाना पकाउनु, भाडा माझ्नु, लुगा धुँदा अल्छी लाग्दैन बरु जाँगर पो लाग्न थालेको छ । आफ्नो आवश्यकताको काम आफैँ गर्नुपर्छ भन्ने जिम्मेवारी पो बोध हुन्छ । यी सबै पहिले किन बोध हुँदैनथ्यो - समीक्षा गर्न मन लाग्छ । अनि समीक्षा यस कोणबाट पनि गर्न मन लाग्छ के मैले फेसबुकको तलाउमा ढुंगा नहानेको भए र शुभेच्छुकहरुले त्यसरी सुझाव नदिएको भए मेरो चेत यति छिट्टै फिथ्र्योहोला - धन्य फेसबुक, धन्य आदरणीय शुभेच्छुकहरु , धन्य ती अमूल्य सुझावहरु र अन्त्यमा धन्य म --- आखिर म भएर नै त यी सब भा छन् ।

No comments: