Friday, November 28, 2008
स्कूप समाचारले दिएको पीडा
बोर्ड सदस्य सोमबहादुर घलेले मिसकल गरे कलब्याक गरेँ । मङ्गलबार दिउँसो २ बजे बस्ने नयाँनेपाल -बहुभाषिक पृष्ठ) संयोजकहरूको बैठकबारे कुरा भयो । कुरा सिध्याइदिएँ । एकछिन् पछि फेरि मिसकल गरे, कलब्याक गरेँ । उनले भने - नरेशजी तपाईको न्यूजले अप्ठेरो पार्लाजस्तो छ । मलाई तीनवटा फोन आइसक्यो, के जवाफ दिने हो सोच्नुस् है । हुन्छ - कुरा सिध्याइदिएँ ।
करिब साढे ९ बजेको हुँदो हो । गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष मातृका तिम्सिनाका स्वकीयसचिव विष्णु खनालको फोन आयो । नमस्कार भन्न नपाई पड्कनुभयो - पार्टी फुट्यो होइन’ । हैन के भयो दाइ’ भन्नासाथ थप पोखिनुभयो हेडक्वार्टर भनेको को, किरण भनेको को’ त्यस्तो समाचार लेख्ने’ तुरुन्त मन्त्रालय हिँड्नु नरेन्द्रजङ पिटर -सञ्चार मन्त्रालयका सल्लाहकार) लाई जवाफ दिन’ । ताजुब लाग्यो । के भएको हो - समाचारमा कुन बुँदामा कसले आपत्ति जनाए केही सोध्नै पाइनँ ।
उनी बम्केको देख्दा मलाई पनि चुप बस्न मन लागेन । सम्झेँ मेरा आदरणीय जेठा दाइ शंकर खपाङ्गीलाई जो वर्षौँ माओवादीको पूर्नकालीन कार्यकर्ता बन्नुभयो र मारिनुभयो - बन्दीपुर आक्रमणबाट घाइते भएपछि उपचारै नपाई । सम्झेँ मेरी आमालाई जो वृद्ध पितालाई घरमा एक्लै छाडेर महिनौँ खट्छिन् माओवादीको अभियानमा । सम्झेँ मेरै विगतलाई संकटकालकै बेला सरकारी सञ्चारमाध्यमबाट रोल्पा पुग्ने सम्भवतः म एक्लो पत्रकार थिएँ । सरकारले माओवादीलाई आतङ्ककारी घोषणा गरेको बेलामा सरकारी मुखपत्रमै आतङ्ककारीको फुँदो नजोडी नेकपा माओवादीको समाचार लेख्ने र छपाउने शायद म मात्र थिएँ । खनालले ममाथि माओवादीलाई सिध्याउन र खुइल्याउन योजनावद्ध भएर लागेजस्तो व्यवहार गरेको मलाई महसूस भयो । र, सभ्य प्रतिकार गरेँ - पार्टी एकतावद्ध गर्ने ठेक्का तपाईको मात्र हो दाइ ।
अलिबेरपछि फेरि उनकै फोन आयो तुरुन्त संस्थान आउनु, मन्त्रालय जानुपर्छ । ए बाबा, मैले त्यो समाचार छापिनुपूर्व प्रमुख समाचारदाता र प्रधान सम्पादक देखाएर पास गराएको थिएँ । छापिसकेपछि त प्रधानसम्पादक र प्रमुख समाचारदाता पनि त जिम्मेवार हुनुपर्ने होइन र - मलाई मात्र किन यस्तो टर्चर - पहिल्यै चढिसकेको पारो थप रन्कियो र भनेँ-मलाई मात्र किन बोलाउनुहुन्छ बोलाउनु न चिफ रिपोर्टर र चिफ एडिटरलाई । उनले चिफ एडिटरलाई पनि बोलाएको छु त भने तर तत्काल चिफ एडिटरलाई फोन गर्दा उनले समाचारका बारेमा कसैले फोन नगरेको बताए । त्यसपछि झन् रिस उठ्यो । मलाईमात्र धम्क्याएको प्रष्ट भयो ।
केहीछिन् पनि फेरि खनालले फोन गरे । भने -अध्यक्ष र प्रधानसम्पादक मन्त्रालय गइसक्नुभयो तपाई पनि मन्त्रालय आउनुस् । मैले जवाफ फर्काएँ- म मन्त्रालय मन्त्रालय धाउन सक्दिनँ, समाचारका बारेमा जे भन्नुपर्ने हो प्रधानसम्पादक र प्रकाशक -अध्यक्ष) लाई भन्छु । फोन राखिदिएँ । तनावबीच खाना च्यापेर कार्यालय हिँडे । अध्यक्ष र प्रधानसम्पादक मन्त्रालय गइसकेका रहेछन् ।
उनीहरू कतिबेला फर्केलान् कुरिरहेँ । केही साथीहरूले हमदर्दी र कुतर्क एकैसाथ जताए - समाचार त राम्रो हो तर गोरखापत्रले छाप्न नहुने । लाजमर्दो । अरूले छाप्न हुने, गोरखापत्रले चाहिँ किन छाप्न नहुने - उनीहरूसँग ठाडै बाझेँ-यस्ता बकम्फुसे तर्क नगर्नुहोस् । साथीहरूको पत्रकारिताप्रतिको बुझाइको स्तर देखेर दया लागेर आयो ।पत्रकारिताको एबीसी समेत थाहा नपाएका आठ/नौ तह पुगेका वरिष्ठ भनाउँदा मात्र होइन, आफूलाई पत्रकारभन्दा माओवादी कार्यकर्ता बढी ठान्ने नयाँ साथीहरूको पनि श्वर मिलेको थियो - गोरखापत्रले त्यस्तो छाप्न हुन्नथ्यो ।
दुइ बजे मन्त्रालय गएको टोली फर्कियो तर लगत्तै नयाँनेपालको बैठकमा हामी सबै सामेल हुनुपरेकोले केही रिपोर्टिङ भएन । बैठक सकेर अध्यक्ष पनि बाहिरिनुभयो, प्रधानसम्पादक पनि घरतिर लाग्नुभयो । प्रतीक्षाको घडी झन् लम्बियो । घरबाटै प्रधानसम्पादकको फोन आयो-साढे छ बजेतिर हामी केही बस्नुपर्ला, केस सिरियस छ । जाँगर थिएन । आठ बजेतिर प्रधानसम्पादक आए । प्रबन्ध सम्पादक, चिफ रिपोर्टर, पोलिटिकल ब्यूरो चिफ र म बस्यौँ । मन्त्रालयमा भएका कुरा संक्षिप्तमा रिपोर्टिङ भयो र गोजीबाट कागज निकाल्दै प्रधानसम्पादकले भने - प्रचण्ड बहुमत प्रचण्डकै पक्षमा भन्ने समाचारमा अनौपचारिक तालिका असावधानीवश पर्न गएकोमा क्षमायाचना गर्दछौँ भन्ने वाक्यांश भोलिपल्टको गोरखापत्रमा छाप्ने ।
गोप्य सूचना खोजेर ल्याउने एउटा समाचारदाताका लागि यो भन्दा पीडाजनक कुरा के हुन्थ्यो र - समाचारले आठदिन अघि मात्र नियुक्त कार्यकारी अध्यक्ष र प्रधानसम्पादकलाई अफ्ठेरो परेको बुझ्न कठिन थिएन । त्यसैले उनीहरूलाई सजिलो हुन्छ र स्थिति सहज हुन्छ भने सो सूचना छाप्न आफूलाई आपत्ति नहुने बताएँ । यसो गर्नु मेरा लागि शिवजीले कैलाशकुट विष पिएजस्तै भयो ।
पत्रकारिता क्षेत्रका सिनियर र समकक्षी साथीहरू भने आजसम्म पनि भनिरहनुभएको छ - "यसपालिको भेलाको समाचार कभरेज त्रि्रो सबैभन्दा राम्रो भयो । तिमीले त माओवादी बिट हेर्ने साथीहरूमा धमाका नै दियौ ।" म भने समाचारले उत्पन्न गरेको खुशी र पीडाको अनुभव एकैचोटी खेप्दै छु ।
ओ...... सर
पत्रकारिता क्षेत्र नै यस्तो रहेछ जहाँ दिनहुँ नयाँ-नयाँ मानिस भेटिन्छन् । परिचय हुन्छ, बोल्नपर्छ । कुनै दिन यस्तो छैन कि चाहेर पनि नयाँ मानिससित नभेटियोस् । एकदिनको एकजनाको दरले पनि वर्षा ३६५ जनासित चिनजान हुने भयो । दुइ/चार वर्षबित्दा परिचय हुनेको संख्या एक हजारभन्दा बढी नाघ्छ ।
पेशा यस्तो पर्यो कि फिल्डमा जानैपर्ने । मोटर चढेर सरर कार्यालय जाने, टेबलमै हाजिरकाजी मगाएर सही धस्काउने, कुर्सिमा बसिबसी काम सक्ने । यस्तो पेशा परेन पत्रकारिता । पूर्व जन्ममा विश्वास गर्ने नै हो भने कुन जुनीको पापको सजाय हो या पुरस्कार यो बबुरो पंक्तिकारले पनि पत्रकारिता पेशा निर्वाह गरेरै दालचामल जुटाउनु परेको छ ।
फिल्ड भेटिन्छन् तिनै नयाँ-नयाँ मित्रहरू । एकपटक परिचय भएका मित्रहरू । एकपटक नजर साटिएका मित्रहरू । कतिपयको नाम सोधिएकै हुँदैन । सोधिएकै भए पनि दिमागमा संग्रहीत भएका हुँदैनन् । आजकलको भाषामा भन्नुपर्दा दिमागमा सेभ भएका हुँदैनन् । जति नै पावरफूल मेमोरी पनि ओभरलोडले बेक्कार लाग्छन् । अरूले अभिवादन गर्छन् इन्कार गर्नु भएन फर्काउनैपर्यो । नाम थाहा हुँदैन बोलाउनै पर्यो । के भनी बोलाउने - जहाँ इच्छा त्यहाँ उपाय त्यसै भनेका होइन रहेछन् । उपाय फेला पर्यो । ओ सर - कति सजिलो । नाम थाहा होस् नहोस् बोलाउन कति सजिलो, छरितो - ओ सर । ओ सर - तपाइले मेरो ब्लग पढ्नुभयो -
Thursday, November 27, 2008
Wednesday, November 26, 2008
पत्रकारिता शिक्षणका भीष्मपितामह
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjeX41lJ7pDlNi8X5F24EOz98slVG7PtuVrUz_ZwzFx8dYShugRqx0n3DwfCGZkP3PZfZThKT6ViQApurVIJH38tYDIpNde_v0lba04UahJhIjbJrj5SL_gNYLW6KbZ82yr3UFTQUJgGm9G/s400/lal+d.jpg)
तीन दशकदेखि पत्रकारिता अध्यापनलाई कार्यक्षेत्र बनाउँदै आउनुभएका सह-प्राध्यापक लालदेउसा राई -लालध्वज देउसा राई) लाई नेपाली पत्रकारिता अध्यापनका भिष्मपितामह भन्दा फरक नपर्ला
'पत्रकारिता भनेको त पढ्ने विषय हो र गर्ने पो हो त' भन्ने कालखण्डमा राई भने 'पत्रकारिता पढेर गरिनुपर्छ' भन्दै त्रिभुवन विश्वविद्यालयमा पत्रकारिताको अध्ययन-अध्यापनमा होमिनुभएको थियो ।
वि.सं. २०३३ मा राईकै नेतृत्वमा नेपालमै पहिलोपटक रत्नराज्यलक्ष्मी क्याम्पसमा पत्रकारिता विषयको अध्ययन शुरु भएको थियो । अहिले सोही क्याम्पसमा पत्रकारितामा स्नातक हुँदै स्नातकोत्तरसम्मको अध्यापन हुने गर्दछ । त्यसैको सिको गर्दै अहिले अन्य विश्वविद्यालयले विभिन्न तहमा पत्रकारिता अध्यापन गरिरहेका छन् भने विद्यालयस्तरमा पनि अध्यापन शुरु भएको छ ।
कोलकाता विश्वविद्यालयबाट पत्रकारितामा पोष्ट ग्राजुयट र कानुनमा स्नातक गर्नुभएका राईको जन्म सन् १९३३ मा सिक्किममा भएको हो । पुख्र्याैली थलो खोटाङको देउसा भएपनि उहाँको हजुरबा तत्कालीन सिक्किम सरकारको सेवामा हुनुहुन्थ्यो । उहाँको पिता सिक्किममै इन्जिनियर हुनुहुन्थ्यो । दार्जीलिङको मोडल कलेजबाट स्नातक गरेपछि हजुरबाको हुटहुटीमा उहाँ पत्रकारिता अध्ययनतिर मोडिनुभएको थियो । "हजुरबा पि्रण्टिङ प्रेसमा काम गर्नुहुन्थ्यो, त्यसैले सानैदेखि डाक्टर, इन्जिनियर नपढ् पत्रकारिता पढ् भन्नुहुन्थ्यो भन्ने सल्लाह दिनुहुन्थ्यो", परिवारको सल्लाहबाटै पत्रकारिता पढाइतिर लागेको कारण खोल्दै राई भन्नुहुन्छ ।
पत्रकारितामा भविष्य सुनिश्चित नदेखेर उहाँले कोलकाता विश्वविद्यालयमा दिउासो पत्रकारिता बिहान कानुन अध्ययन गर्नुभयो । पढाई सकेर वकालतको अभ्यासमा लाग्दा 'चोर, डाकाबाट समाजलाई खतरा छ भन्ने जान्दाजान्दै पनि उनीहरूलाई बचाउनुपर्ने' पेशागत बाध्यता देखेपछि 'यस्तो काम मबाट हुन सक्दैन' भन्ने उहाँलाई लागिसकेको थियो । त्यसपछि साथीसँग मिलेर कोलकाताबाटै उहाँले अग्रेजी भाषामा 'स्पोर्टस्' म्यागेजिन निकाल्नुभयो ।
खोटाङ जाने कि, काठमाडौँ जाने कि दार्जीलिङ ? सोचाईको त्रिशूलमा पर्नुभएका राईलाई दार्जीलिङबाट साथीहरूले बोलाएपछि उहााको गन्तव्य बन्यो -दार्जीलिङ । सूधपा -सूर्यविक्रम ज्ञवाली, धरणीधर कोइराला र पारसमणि प्रधान) को बुढ्यौलीसँगै नेपाली साहित्य सम्मेलन अलि सुस्ताएको थियो त्यसबेला । साहित्यमा समेत रूचि भएका राई सम्मेलनलाई उकास्न लाग्नुभयो । इन्द्रबहादुर राई, तुलसी अपतन र देवकुमारी सिन्हा -थापा) लाई समेटेर कार्यसमिति बनाउनुभयो । उहाँकै सम्पादनमा 'दियालो' साहित्यिक मासिक पत्रिका पनि प्रकाशित भयो ।
'साहित्यमा लागेर पेट पाल्न सक्छस्' साहित्यमा लाग्दा परिवारबाट यस्तै वचनवाण तेर्सिने गथ्र्यो । यस्तैमा सिक्किमबाट पिताजीले 'एउटा काम छ, गर्छस् Û तलव ४५० रुपियाँ Û' भन्नुभएपछि राई तानिनुभयो - त्यतै । काम थियो - भारतीय विदेश मन्त्रालयको मातहतमा रहेर नेपाली भाषामा 'प्रगति' मासिक निकाल्ने । त्यो सम्भवतः चार कलरमा छापिने पहिलो नेपाली भाषाको सूचनाप्रद साहित्यिक पत्रिका थियो ।
दुई/तीन वर्ष 'प्रगति'को सम्पादनमा बिताएपछि काठमाडौँका साथीहरूले 'राष्ट्रिय समाचार समिति -रासस) र 'दी राईजिङ नेपाल'मा पत्रकार चाहिएको छ, तुरुन्तै आउनु' भने । नेपाल आउने मन त पहिलेदेखि नै थियो नै अब जागिर पनि मिल्ने भएपछि के चाहियो ? उहाँ काठमाडौँ आउनुभयो तर राससमा आवेदन गर्ने म्याद गुजि्रसकेको थियो । त्यसैले 'नेपाल रिभ्यू' मा उहाँ संलग्न हुनुभयो । सन् १९७० मा 'दी राईजिङ नेपाल' मा सह-सम्पादक मागिएपछि उहाँ 'दी राईजिङ नेपाल' मा प्रवेश गर्नुभयो ।
'दी राईजिङ नेपाल'मा १२ वर्ष बिताउँदा 'फिचर सम्पादक' बन्नुभएका राई वि.सं. २०३३ मा त्रिभुवन विश्वविद्यालयमा पत्रकारिता अध्यापन गर्न प्रवेश गर्नुभयो । गोकूल पोखरेल, भारतदत्त कोइराला शुरुवातमा पत्रकारिता अध्यापनमा संलग्न हुनुहुन्थ्यो भने पहिलो समूहका विद्यार्थीहरू हुनुहुन्थ्यो, यतिबेलाका पाका पत्रकारहरू हेमबहादुर विष्ट, सौरभ, लोकदीप थापा आदि । "यस्तै १०/१२ जना विद्यार्थी थिए पहिलो 'ब्याच' मा" पुराना दिनलाई आलो बनाउôदै राई भन्नुहुन्छ । "त्यतिबेला राजनीतिक वातावरण खल्बलिएको थियो एकपटक क्याम्पसको हलमा घेरेर झण्डै मारेका" स्मरण गर्दै राई भन्नुहुन्छ ।
सन् १९८३ मा विश्व सञ्चार दिवसका अवसरमा पत्रकारिता विभागलाई पनि आमन्त्रण गरिएपछि राईलाई अझै उत्साहित बनायो । युनेस्कोले विभागलाई हङकङबाट भिडियो क्यामेरा, क्यामेरा, रकेर्डर, टेलिभिजन सेट, टाइपराइटर उपहार दिएकै थियो । त्यही बेलामा पुल्चोक इन्जिनियरिङ क्याम्पसमा पढाउने हङ्गेरियन इन्जिनियर गु थासको सहयोगमा विभागले पहिलोपटक रत्नराज्यलक्ष्मी क्याम्पसमा मैदानमा भइरहेको सभाको हलभित्र प्रत्यक्ष प्रसारण गरेको थियो । त्यतिबेला नेपाल टेलिभिजनको जन्म भएकै थिएन ।
पत्रकारिता विषयको प्रमाणपत्र तह, स्नातक तह र स्नातकोत्तर तह तीन वटैको पाठ्यक्रम निर्माण उहाँकै अगुवाईमा भएको हो । कक्षा ९ र १० पत्रकारिता विषयको पाठ्यपुस्तक पनि उहाँले नै लेख्नुभएको हो । यसबाहेक अखबारी पत्रकारिता, पत्रकारिता सिद्धान्त र व्यबहार, बहुलबादी समाजमा नेपाली पत्रकारिता, एडभरटाइजिङ एण्ड पब्लिक रिलेसनस, मिडिया प्राक्टिस इन नेपाल लगायतका उहाँका पुस्तक पनि प्रकाशित भइसकेका छन् ।
अहिले च्याऊ उम्रेसरी पत्रकारिता शिक्षण शुरु हुनुलाई राई 'सकारात्मक' मान्नुहुन्छ । "पत्रकारिता पढ्ने पनि बढे, पढाउने पनि बढे, विद्यार्थीमा उत्साह पनि छ तर राजनीतिक वातावरण खल्बलिएकोले पढ्ने विद्यार्थीले पढ्न पाएका छैनन्" राई भन्नुहुन्छ । तर गुणस्तर नि ? "गुणस्तरको खाँचो कहाँ छैन, सबैले सबैतिर गुणस्तर खोजिरहेका छन् । पहिले पत्रकारिता पनि पढ्ने विषय हो र ? भन्थे अहिले पढ्नैपर्ने विषय रहेछ भन्दैछन् । यो चेतनाले आफैँ गुणस्तर कायम गर्छ" राईको आशा छ ।
पत्रकारिताको शिक्षण मात्र होइन प्रशिक्षणको शुरुवातमा पनि राई संलग्न हुनुहुन्छ । नेपाल प्रेस इन्स्िटच्यूट गोकूल पोखरेल, भारतदत्त कोइराला र आˆनो अगुवाईमा खुलेको उहाँको दाबी छ । तर शिक्षण र प्रशिक्षणमा फरक के त ? "प्रशिक्षणले 'टुल्स' चलाउन मात्र सिकाउँछ तर शिक्षणले यो 'टुल्स' चलाउँदा यस्तो हुन्छ भन्ने पहिल्यै थाहा दिन्छ" पृथकता खुट्याउँदै राई भन्नुहुन्छ ।
बेलायतका डेनिस मक्वेल विश्वमै आमसञ्चार सिद्धान्तका ज्ञाता मानिन्छन् । आमसञ्चार सिद्धान्तका नेपाली विज्ञ राईलाई पनि चिन्नेहरूले 'नेपालका मक्वेल' भन्छन् । "मक्वेल हुने कोसिस गरिरहेको छु तर भइसकेको छैन" राईको प्रष्टीकरण छ । एकपटक अमेरिका जाँदा मक्वेललाई भेट्ने खुबै इच्छा थियो रे राईलाई । राईको त्यो इच्छा त पूरा भएन । तर प्रेसका चार सिद्धान्तका सिद्धान्तकारलाई भेटेर उहााले त्यसलाई पुनरावलोकन गर्नुपर्ने सुझाव दिनुभयो रे ।
पत्रकारिता विभाग स्थापनादेखि नै आमसञ्चार सिद्धान्तको एक मात्र अध्यापक रहनुभएका राई आमसञ्चार सिद्धान्तप्रति नेपाली विद्यार्थीको गहिरो रूचि नभएकोमा अफसोच मान्नुहुन्छ । "'म नेपालको मक्वेल बन्छु' भन्ने प्रतिवद्धता बोकेका विद्यार्थी मैले पाएको छैन" पत्रकारितामा स्नातकोत्तर तहको पाँच वर्षे अनुभव केलाउँदै राई भन्नुहुन्छ । "म आमसञ्चार सिद्धान्तमा रामं्रो विद्यार्थी निकाल्न चाहन्छु, मलाई नेपाली 'मक्वेल' जन्माउने रहर छ" राईको बुढेसकालको रहर छ ।
पत्रकारिता शिक्षणमा निरन्तर ३२ वर्षे अनुभव सागालेका, ड्याग ह्यामरशोल्ड फेलोसिप लगायत विभिन्न अन्तर्राष्ट्रिय कोर्स चाखेका, पत्रकारिताको अभ्यासमा वर्षौ खर्चेका, डेढ दर्जन मुलुक घुमेका राई पत्रकारितामा विद्यावारिधि गर्न नपाएकोमा भने दुःखी हुनुहुन्छ । त्रिविबाट विद्यावारिधि गर्न आˆनो 'गाइड' नै नपाएको उहाँ बताउनुहुन्छ । 'रिडर' पदमा बढुवाका लागि 'भाइभा' लिने विज्ञ नेपालमा नभएकाले आˆनै पहलमा बङ्गलादेशबाट ल्याएर बढुवा हुनुपरेको तीतो अनुभव छ उहाँसँग । 'पत्रकारिता अध्यापनमा तीनदशक बिताएर प्राप्त गरेको जे पाइयो के त्यो विद्यावारिधिभन्दा कम छ र ?' अनुभवले खारिका ७५ वर्षे यी गुरु विद्यावारिधि गरेकाहरूसित बहस गर्न तयार रहेको बताउनुहुन्छ । त्रिवि वा अन्य कुनै विश्वविद्यालयले मानार्थ विद्यावारिधि दिएमा शायद उहाँलाई जीवनप्रति गुनासो गर्ने ठाउँ बाँकी रहँदैन थियो कि ?
चित्रकला नपढेका चित्रकार
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjMptjpA1fzxOUp_gwyOAmX8KGtT34XYEXONIhOxbB_JTzoiqWqSh6QEjVCsYewEtn0kiw-3V0Rvq70KilMlSITDHJfsx-nA-kM5RqknQtZE70oUE4KxBfBzwo_D0Esp6A1YQcz_YhsZzL2/s400/tekbir+dai.jpg)
कुनै समय चित्रकला प्रदर्शनीमा छिर्ने प्रवेश शुल्क -२०/२५ पैसा) समेत हुदैनथ्यो टेकवीर मुखियासित । तर उनै मुखियाले कला क्षेत्रको बृहत् पुरस्कारमध्ये एक बासुदेव-विद्यादेव लुईटेल पुरस्कार -एक १ लाख ११ हजार १११ रुपियाँ ११ पैसा राशीको) पाएका छन् ।
पुख्र्यौली थलो ओखलढुङ्गा, चेस्कु भए पनि मुखियाको जन्म खरसाङको धजे चियाकमानमा भएको हो । खरसाङको डेभिस प्राइमरी स्कुलबाट प्राइमरी तहको पढाइ पूरा नगर्दै मुखियाको चित्रकलासँग सम्बन्ध गाँसिइसकेको थियो । किताबका अक्षरहरूले भन्दा चित्रहरूले मुखियाको ध्यान तान्थे । किताबमा छापिएका चित्रमाथि ट्रेसिङ पेपर राख्यो, चित्र उतार्यो । लाग्थ्यो, मुखिया चित्र बनाउनैका लागि जन्मिेका हुन् । मुखियालाई पनि यस्तै लाग्छ । भन्छन् -"होस सम्हाल्दादेखि नै मैले चित्र बनाउन थालेको हुँ ।"
प्राइमरी स्कुलमा कडा मिजासका शिक्षक थिए-जङ्गी सर । जसको नाम मात्रले विद्यार्थी तर्सन्थे । मुखियाको ध्यान भने शिक्षकको पढाईभन्दा चित्र उतार्नतिर हुन्थ्यो । एक दिन तिनै जङ्गी सरको फेला परे मुखिया । हातमा थियो तिनै सरको पोट्रेट उतारिएको कापीको पाना । सबैको अनुमान थियो - आज मुखियाले जीन्दगी नबिर्सिने चाबुक भेट्ने भो । तर भयो अचम्म, आˆनो पोट्रेट तस्वीर हेरेर जङ्गी सरको जङ्ग चढेन । उल्टो 'ल ठीकै छ' भन्दै मुस्कुराए पो । त्यसले मुखियालाई चित्रकलामा झन् हौस्यायो ।
पाचदेखि सात कक्षासम्म खरसाङको अल्फन्स हाइस्कुलमा पढे मुखियाले । चार दाजुभाइ र दुई दिदीबहिनीको धनी भए पनि आर्थिक हिसाबले गरिब मुखियाले पढाइ कक्षा आठभन्दा माथि उकाल्न सकेनन् । भारतीय सेनामा कार्यरत् पिताको कोलकाता सराईसँगै मुखिया परिवार पनि कोलकाता पुग्यो । कोलकाताको माहौल नै बेग्लै । कलाकार नभएको घरै नहुने । मुखियाले पनि हवाइन गीतार बजाउन सिके । त्यसपछि त कोलकाताबासी नेपालीकहाँ हुने पूजाआजामा मुखिया अनिवार्य जस्तै भए ।
चित्रकला, संङ्गीत र अध्ययनमा असाध्यै रूचि भए पनि गरिबीले मुखियाले पढ्न पाएनन् । कोलकातामा क्यानई भन्ने स्कुल थियो । त्यहाँका पि्रन्सिपलले धेरै सहयोग गरे मुखियालाई । कहिले स्कुले केटाकेटीलाई संग्रहालय घुमाउने, कहिले चिडियाखाना डुलाउने काम दिए र त्यसवापत केही पैसा । कोलकातामा त्यसबेला चित्रकला प्रदर्शनी भइरहन्थे तर अहिले नेपालमा जस्तो सबैलाई निशुल्क प्रवेश भने हुन्नथ्यो । प्रवेश शुल्क तोकिन्थ्यो २०/२५ पैसा । त्यति पैसा पनि नहुँदा बाहिरैबाट चिहाएर चित्त बुझाउँथे मुखिया । घरमा कसैले मन पराउदैनथ्यो चित्रकला र सङ्गीत । तैपनि बाउआमासित लुक्दै ढोका थुनेर दिनभर/रातभर चित्र कोर्थे, गीतार बजाउथे मुखिया ।
त्यसैबेला चीन भ्रमणबाट तत्कालीन राजा महेन्द्र शाह र प्रधानमन्त्री विपी कोइराला कोलकाता हुादै नेपाल आउने खबर फैलियो । उपचार गर्न कोलकातामा पुगेका नेपाली कााग्रेसका नेता धनमानसिंह परियारले शाह र कोइरालाको उपस्थितिमा कार्यक्रम मिलाए । मुखियाले आफूले बनाएको चित्र शाहलाई भेटेर उपहार दिए । अरूले 'राजासित भेट्दा पनि किन केही नमागेको' भनी नसोधेका होइनन् । 'तर मलाई त्यस्तो माग्नुपर्छ भन्ने थाहै भएन' मुखिया भन्छन् । मुखियासम्वद्ध योङ्ग गोर्खा एसोसिएसनमा विपी कोइरालाको भाषण सुनेर मुखिया जिल्ल भए । "बङ्गालीको मात्र भाषण सुनेको मलाई विपीको भाषण सुनेपछि नेपालीले पनि यस्तो बोल्न सक्दोरहेछ भन्ने लाग्यो" मुखिया भन्छन् ।
विपीको भाषणपछि नै नेपालले तानिसकेको थियो मुखियालाई । घरमा पनि ओखलढुङ्गा जान कर गरिरहेका थिए । यस्तैमा एकदिन साथीको घर जान्छु भनेर मुखिया छिरे काठमाडौँ । २०२२ साल थियो त्यो । काठमाडौँमा मामा बस्थे । कहाँ जाने, के खाने चिन्ता थिएन । चित्रकार/सङ्गीतकार भएकाले सबैको हाईहाई हुनु स्वाभाविक नै भयो । तीन/चार महिना दिन/राति बाजा बजाएरै बिताए । फुर्सदमा चित्र पनि कोरे । एक दिन पशुपति मन्दिर परिसरमा चित्र कोरिरहेकै बेला कसैले भेट्यो । र, 'जोरगणेश प्रेसमा यस्तै कलाकार चाहिएको छ' भन्दै सम्पर्क गर्न सुझायो । भौँतारिरहेका मुखियालाई 'कानोलाई आँखो' खोजेजस्तै भयो । भोलिपल्टै जोरगणेश पुगे । प्रेसका साहु सुब्बा ऋद्धिबहादुर मल्लले छोराहरू विजय र गोविन्दबहादुरलाई बोलाएर खोजेजस्तै मानिस पाइएकोमा खुशी साटे र सोधे- कति दिउFm तलव ? जागिर स्वाद नचाखेका मुखियालाई कति माग्ने के थाहा ? तैपनि फुत्किहाल्यो-तीन सय रुपियाँ ।
त्यतिबेला नेपालमा चित्रशिल्पीहरूको संख्या औँलामा गन्न सकिन्थ्यो । "त्यस्तै आठ/दश जना थिए होलान्" नाम सम्झादै मुखिया थप्छन्, "चित्रकला बुझ्ने कोही थिएन । २५ सयको चित्र पाँचसयमा दिँदा पनि कसैले नलैजाने " सम्झनाका पाटा आला बन्दै जान्छन् । साझा प्रकाशन त्यतिबेला भर्खरै खुलेको थियो । कोलकातादेखिका साथी नगेन्द्र थापाले साझामा पनि काम गर्न सुझाए । क्षेत्रप्रताप अधिकारी महाप्रबन्धक रहेछन्, भेट्ने बित्तिकै काम भइगयो । मुखियाले २७ वर्ष जोरगणेश बिताए । साझामा अहिले पनि गाँसिएकै छन् । "दिनको २२ घण्टासम्म काम गर्थेँ त्यतिबेला, भाले बासेको सुनेपछि बिहान भएछ भनेर काम गरेकै ठाउँमा निदाउँथेँ" बितेका दिनका ढड्डा खोतल्दै मुखिया भन्छन् ।
कुनै समय काठमाडौँका चार/पााच वटा प्रेसका स्केच, आवरण डिजाइन एक्लैले भ्याउने मुखियाले अहिलेसम्म करिब पाच हजार पुस्तकको आवरण डिजाइन गरेका छन् । उनले कोरेका पेण्टिङहरूको संख्या पनि एक हजार नाघिसकेको छ । महङ्गा चित्रकारको नाम उनलाई कसैकसैले दिने गरे पनि मुखिया सहमत छैनन् । भन्छन्, "म महङ्गोमा महङ्गो सस्तोमा सित्तैमा पनि काम गर्दिने मान्छे" । आवरण डिजाइनको बढीमा १० हजारसम्म र पेण्टिङको ७५ हजारसम्म पाएको सगर्व बताउँछन् ।
औपचारिक अध्ययन गर्न नपाए पनि स्वाध्ययनमा मुखियाको निक्कै रुचि छ । सबै खालका पुस्तक चाहार्ने मुखिया पुस्तक भने पनि हुरुक्कै हुन्छन् । शायद औपचारिक पढाईको प्यासले होला । "नखाई/नखाई, ऋण लिएर पनि किताब किन्ने गरेको छु" मुखिया भन्छन् ।
धेरै ठाउामा काम गर्दा एकल चित्रकला प्रदर्शनी गर्न नपाएकोमा थकथकी छ मुखियालाई । जागिरलाई बढी प्राथमिकता दिादा कार्टुनमा जम्न नपाएकोमा गुनासो आफैसँग । चित्रकलाको शिक्षा कहीा कतै नलिए पनि कलर -रङ्गीन) चकदेखि कम्प्युटर प्रविधिसम्मबाट चित्र बनाएका छन् मुखियाले । कार्टुनदेखि चित्रकलासम्म अन्तर्राष्ट्रियस्तरमै प्रतिस्पर्धा गर्नसक्ने युवा उपस्थिति देखेर दङ्ग मुखिया समाजले कलाक्षेत्रलाई चिनिदिएकोमा प्रफुल्ल पनि छन् । भन्छन्, "चित्रकलाको नेपाली क्रेताहरू नै अहिले पर्याप्त छन्, विदेशीको मुख ताकिरहनु पर्दैन"।
मन्त्री गोपाल किराँती, कक्षा सात
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgrxUaNOF0s-iwJL-imJJDG_IQ102J_j5HHBEhn-e64kP86lTR3qpIAG1klNLWKFHxZSUYKimXmqJz7Kg_py-BOfhdNKzNcOjwwhSeOQVlBxAohbuI_nwDwMw9JkgzCjTa9vAJwnp32aUoi/s400/Gopal_kirati_1.jpg)
मन्त्री हुन कति पढ्नुपर्ला ? नेपालको के कुरा, विश्वमै यो प्रश्नको जवाफ शायदै पाइएला । तर नयाँनेपाल निर्माणको कार्यभार काँधमा हालेको गणतन्त्र नेपालको प्रथम सरकारका एक मन्त्रीको शैक्षिक योग्यता छ - सात कक्षा । त्यसो त सबै मन्त्रीको योग्यता खोजी गरिएको छैन । पढेर पास हुन नसके छिमेकबाट सजिलै प्रमाणपत्र आयात गरी सान र मान दुवै थाप्नसक्ने प्रवृत्ति र सम्भावना अझै जीउँदोजाग्दो हुँदाहुँदै उनी भने सगर्व घोषणा गर्छन् - साथीहरूले मेरो कक्षा सातको प्रचार ब्यापक गरिदिनुपर्छ ।
उनी हुन् - संस्कृति तथा राज्य पुनर्संरचना मन्त्री गोपाल किराँती । सोलुखुम्बुको सोताङ गाविस- ९ मा जन्मेका किराँतीले बुर्जुवा शिक्षा बहिस्कार गरेर होइन, गरिबीले पढ्न पाएनन् । कक्षा सात पढ्दापढ्दै दाजु र बाबुको निधन भएपछि किराँतीको पढाइमा पनि पूर्णविराम लाग्यो । जन्मले साइँलो भए पनि कर्मले जेठो बन्नुपरेपछि पढाइलाई सदाका लागि थन्क्याएर उनी लागे ट्रेकिङ मजदूरीमा ।
पढाई कम भए दुई/चार कक्षा आफैाले थपेर भन्दिने माहौल छ । किराँतीले पनि थपेर भन्दिसक्थे - कक्षा दश । आखिर मन्त्रीको मार्कसिट कसले खोज्थ्यो र ? तर उनी सगर्व भन्छन्, "मेरो औपचारिक शैक्षिक डिग्री सात कक्षा मात्रै हो, त्यैपनि सर्टिफिकेट छैन" । त्यसो भए उनले किन आˆनो सात कक्षे शैक्षिक डिग्रीको प्रचार चाहे त ? "पाच/सात कक्षा मात्र पढ्न पाएका वा त्यो पनि नपाएका नेपालीको संख्या करोडौँ छ । उनीहरूलाई पनि हाम्रो संघर्षले प्रेरणा मिलोस् भनेर" स्पष्टीकरणको शैलीमा किराँतीले भने । शैक्षिक डिग्री नहुँदा वा कम हुँदा मानिसहरूमा ग्लानी र लघुताभाषले डेरा जमाउने उनको धारणा छ । विज्ञान र जनदिशालाई अख्तियार गर्न सकेमा धेरै असम्भव सम्भव पार्न सकिने उनको आत्मविश्वास छ ।
औपचारिक शैक्षिक योग्यता कम भए पनि मन्त्री किराँतीको स्वाध्ययन भने निक्कै उच्च छ । औपचारिक पढाईको भोकले होला किराँतीले 'ढाकरका ढाकर' किताब पढेका छन् । संख्यै गन्ने हो भने पुगे होलान् तीनहजार, पैतीस सय । भारी लगाउने हो भने हुँदा हुन् दश ढाकर । विधामा उपन्यास र विषयवस्तुमा संघर्ष किराँतीका राजाई हुन् । कस्तो किताब मनपर्छ छ उनलाई ? 'होण्डुरसका महिलाको हृदयको आवाज' जस्ता । खााट्टी राईबस्तीमा जन्मेहुर्केका किराँतीले खस -नेपाली) बोल्नुमा पनि तिनै उपन्यासको देन छ रे ।
नेकपा -माओवादी) का केन्द्रीय सदस्य किराँतीले माओवादी प्रवेशपछि भने पूरै किताब छिचोल्ने मौका पाएका छैनन् रे । "माओवादीको सदस्य हुनु अगि असाध्यै पढ्थेा । सङ्गठन पनि सानो थियो, काम पनि थोरै" - किराँती भन्छन् । २०६३ मा माओवादी शान्तिप्रक्रियामा आएपछि भने उनले तीनवटा उपन्यास पढ्न भ्याए रे ।
कडा प्रकाश हेर्न नहुने समस्याले उनी टेलिभिजन हेर्दैनन् । रेडियो सुनेर अपडेट हुने बानी पारेका किराँती बीबीसी, नेपाली सेवा र रेडियो नेपालको समाचार हत्पति छुटाउँदैनन । पत्रपत्रिका सर्सती पढ्ने उनी मूल्याङ्कन मासिकको भने विज्ञापन पनि छुटाउँदैनन रे । पढ्न नपाए पनि तिथिमिति सम्झने मामिलामा भने उनी पार्टीमै गनिन्छन् । भन्छन् - आत्मरति जस्तो हुनसक्छ, पार्टीमा कामरेडहरूले तिथिमिति सम्झनेमा मेरो नाम लिने गर्नुहुन्थ्यो ।
के त्यसो भए औपचारिक शिक्षा नहुँदा किराँतीलाई अˆठेरो परेको छ त ? "औपचारिक डिग्री नहुँदा 'लाइफ स्ट्याण्डर्ड' एउटा सेटमा नहुँदो रहेछ । औपचारिक डिग्रीले जीवनशैलीलाई शहरिया दुनियाामा सेट गरेको हुन्छ" किराँतीको भोगाइ छ । माओवादी कार्यकर्ताले विगतमा बुर्जुवा शिक्षा बहिस्कारका नारामा पाठशालाहरू बन्द गराएका थिए । तर किराँती भनाइ अलि बेग्लै छ - 'औपचारिक शिक्षा लिनुपर्छ तर त्यस्तो शिक्षा अरूलाई सताउन प्रयोग गरियो भने म त्यस्तो शिक्षालाई मुर्दावाद भन्छु' ।
अˆठेरोको जवाफ यतिमै पूर्ण हुँदैन । नपढी राजनीतिमा लाग्दा बिगतमा हेपेर भित्तामै पुर्याइन्थ्यो किराँतीलाई । भोजपुर, खोटाङमा १३ वर्ष किरात स्वायत्त प्रदेश बनाउन होमिँदा धेरै किराती बुद्धिजीवीसित उनको बहस भयो । विश्वविद्यालयको ढोका टेकेका र देखेका एमाले/कााग्रेसका बुद्धिजीवी भनाउँदाले किराँतीलाई सुझाव दिन्थे रे - 'आइए/बीएसम्म पढेको भए गरि खान्थिस् होला ता मूला पााच/छ कक्षा पढेको नाथे, बरू विदेश गएर पैसा कमा, होइन भने केही गरेर बीएसम्म पढ् ।' के ती सर्टिफिकेटधारी बुद्धिजीवीको अर्ती मानेको भए गोपाल किराँती आज मन्त्री बन्थे ? 'काग कराउँदै गर्छ पिना सुक्दै गर्छ' जस्तैगरी उनले 'जानेको कुरा त गर्न पाइन्छ नि हैन Û' भन्दै राजनीति छाडेनन् । प्रतिवादमा उनले भन्ने गर्थे - 'एमए/पीएचडी गरेकाले लेख्ने 'क' पनि उही हो, मैले लेख्ने पनि उही हो । यति हो धेरै पढ्नेले राम्रो -कलात्मक) लेख्लान्, तर मैले पनि त बुझनिे त लेख्छु नि Û'
संस्कृति संरक्षणको जिम्मा सम्हालेका यी मन्त्रीको किराँती संस्कृतिसँगलपक्कै गाासिएको रक्सिसँगकस्तो सम्बन्ध छ - जान्न मन लाग्यो । 'म रक्सि पिउँछुु' उनले कुराकानीलाई प्रकाशनयोग्य बनाइदिए । मन्त्री भएपछि धेरै जााड, रक्सि, वियर उपहारस्वरुप आएको उनले बताए । तर टाइफाइडले सताउँदा पिउन नपाएको धेरै समय भएको उनले थपे । 'पार्टीमा नेताहरूले लुकी-लुकी रक्सि पिउने चर्चा हुन्थ्यो । म त्यस्तो प्रवृत्तिको विरोधी थिएँ । तर मैले युद्धकालमा फर्मेसनमा कहिल्यै पिइनँ" किराँतीले प्रष्ट पारे ।
त्यसो त लुकीछिपि रक्सि पिउने प्रवृत्ति विरुद्ध धाबा बोल्न नै उनलाई मन लागेको थियो रे । त्यस्तो प्रवृत्तिको भण्डाफोर गर्न उनले लेखै लेख्ने योजना बनाएका रहेछन् - कमरेडहरू म रक्सि पिउँछुु शीर्षकमा । एक/दुई जनासित सल्लाह गर्दा 'त्यस्तो नगर्नु' भन्ने सुझाव पाएपछि पनि उनले लेख लेखी छाड्ने निश्चय गरेका थिए रे । 'तर त्यहीबेला अध्यक्ष प्रचण्डले दुई पेगको 'ओपिनियन' दिनुभयो, त्यसपछि मैले लेख लेखिरहनै परेन' भ्रूणहत्यामा परेको लेखको बारेमा किराँतीले भन्नुभयो ।
पितृदेखि नै रक्सिको सङ्गत गरेकाले होला, कुरा यत्तिमा सिद्धिँदैन । २०५८ तिर पार्टीमा बहस चल्यो - रक्सि नियन्त्रण कि निषेध विषयमा ? किराँती नियन्त्रणको पक्षमा हुनुहुन्थ्यो भने तत्कालीन केन्द्रीय सदस्य रवीन्द्र श्रेष्ठ निषेधको पक्षमा । बहस बढ्दै भनाभनमा ओर्लियो । "रवीन्द्रजीले मलाई 'तपाईले रक्सि पिउनुहुँदो रहेछ' भन्नुभयो, मैले 'हो, म पिउँछुु' भनेँ । उहाँले 'कम्युनिष्ट पार्टीको सदस्यले रक्सि पिउने' भनेर अनुशासनको कुरा झक्िनुभयो । मैले 'कारबाही गर्नुस्' भनेँ । 'रक्सि निषेध गरियो भने जनजातिसित लडाई हुन्छ, मैले उनीहरूको बीचमा कसरी काम गर्ने ?' प्रश्न गरेँ । पछि विवाद तत्कालीन क्रान्तिकारी जनपरिषद्का संयोजक डा. बाबुराम भट्टराईसम्म पुग्यो । डा. भट्टराईले 'गोपालजी ठीक हुनुहुन्छ, रक्सि नियन्त्रण नै माक्र्सवादसम्मत हो' भन्नुभयो" किराँती संस्कृति अङ्गाल्दाको नोकझोकको बेलीविस्तार उनले लगाए ।
त्यसो भए किराँतीले कति खान्छन् त रक्सि ? "मैले खान खोज्ने त ठीकै हो तर पाहुना जाँदा नियन्त्रित हुन गाह्रो"- आˆनो 'डोज'को जानकारी र बाध्यता दुवै एकैपटक आयो । केही गरी नियन्त्रणभन्दा बाहिर भइहालेमा अपनाउने उनको सुत्र पनि छ उनको । 'पिएपछि सुतिहाल्ने । सुत्ने मेसो मिलेन भने नबोल्ने, स्रोतामात्र बन्ने' ।
मन्त्रालय र पार्टी बाहेकका सार्वजनिक कार्यक्रममा नजाने घोषणा गरेका मन्त्री किराँतीको तन्दुरुस्तीको राज पनि अनौठै रहेछ । अरू कपालभाँती, जीम, योगा गर्छन् तर उनी भने तन्दुरुस्तीका लागि गाउँमा हिँड्छन् रे । "काठमाडौँमा सिकिस्त परे पनि ताप्लेजुङ, भोजपुरमा पुगेर हिँड्न थालेपछि 'प|mेस' हुन्छु" तन्दुरुस्तीको रहस्यमयी पोको खोल्दै किराँतीले भने । "तर मन्त्री भएपछि गाउँमा हिँड्न नपाएर हैरान छु" किराँतीले दुखेसो पनि पोखे ।
शुरुमा अलग्गै सशस्त्र संघर्ष थालेका किराँतीले त्यसअगि काठमाडौामा तीन महिना बक्सिङ सिकेका थिए रे । धेरै वर्ष सशस्त्र संघर्षमा बिताए पनि उनले अहिलेसम्म दुईपटक मात्र बन्दूक पड्काएका छन् रे । त्यो पनि भीडन्तमा होइन । "२०५३ सालमा म भूमिगत नभएकै बेला मोरङको एउटा घरमा गएको थिएँ । त्यहाँ बँदेलले बाली खाएर दुःख दिँदो रहेछ । पहिलोपल्ट त्यहीँ बँदेल धपाउन भरुवा बन्दूक पड्काएँ । पछि २०५५ सालमा 'ट्रायल' का लागि तीन राउण्ड रिवल्वर पडकाएँ" किराँतीले फेहरिस्त सुनाए ।
संविधानसभा सदस्य पदलाई असाध्यै सेरेमोनियल ठान्ने किराँतीले मन्त्री पदलाई भने त्यसको ठीकविपरीत 'असाध्यै चाप र ब्यस्त' पाउनुभयो । 'मन्त्री भएपछि नियमिततामा गम्भीर उतारचढावको सामना गर्नुपरिरहेको' किराँतीको दुई महिने अनुभव छ । मन्त्री बनेपछि उनको मनमा कविताको एउटा शीर्षक फुरेको छ । 'प्रक्रियाहरूको हजार जटिलता' । "यो शीर्षकमा कवितै लेख्नुपर्छ भन्ने ठानिरहेको छु" किराँतीले भने ।
मन्त्री पदको ब्यस्तताबाट यदि उनले एक दिनका लागि फुर्सद पाए भने के गर्लान् ? "कमरेड किरणसित दर्शनबारे छलफल गर्छु । बादल कमरेडसित अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनका अन्तरविरोधबारे कुरा गर्छु । बैरागी काइँलासित साहित्य र कविता बारेमा छलफल गर्छु" किराँतीको एकदिनको योजना यतिमै सकिँदैन । उनले थपे "धर्ममा आस्था राख्ने पण्डित, गुरुहरूसित छलफल गर्न चाहन्छु यदि उनीहरूसित दिनभरि नै छलफल गर्न पाएँ भने उनीहरूलाई 'अहिलेको दुनियाँमा अध्यात्मवाद भौतिकवादको घेराबन्दीमा परिसकेको छ । भौतिकवादको अभावमा अध्यात्मवाद टिक्न सक्दैन । त्यसैले भौतिकवादको सेवामा अध्यात्मवादलाई प्रयोग गर्नुहोस्' भनेर आश्वस्त पार्ने छु " ।
उनलाई मात्र एक दिन फुर्सद मिलेर भएन क्यारे । अरूलाई पनि त फुर्सद हुनुपर्यो नि . त्यतिबेला चाहिँ के हुँदो हो "कोही पनि भेटिएनन् भने आराम गरेर दिन बिताउने छु ।"
माई नेम इज लखन
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEghn5cPcsThDhkX7HULN2gMUMWXM2qNX1hQzr5N1Swjq4f_xaN6emMIdjKTdEzLiuxLgH3ezOgWjlTq1K4AW3xkX6qLD4VFcwbnbJ20LAHPy_eiGmi_atdbqb9zzauqcKBywPu5e5-VLxg-/s400/lakhan+thapa.jpg)
अचानक एक दिन फेसबुकको भूत चढ्यो । पत्रपत्रिकामा अलि बढी नै झुत्तिने बानीको परिणाम थियो यो । मिति याद भएन, नयाँपत्रिकामा प्रमिला देवकोटाले लेख्नुभएको फेसबुक सम्बन्धी सामग्री थियो त्यो । जसले मलाई फेसबुकको दैलो उघार्न हुटहुटी लगायो ।
फेसबुकको होमपेजको पर्दा खुलेपछि आएका थुप्रै प्रश्नोत्तर त्यसमध्ये एक थियो - आफ्नो नाम प्रविष्ट गर । के नाम राखुँ ? सोचेँ । अन्यत्र असली नाम जो अहिले चलनचल्तीमा छ त्यही भर्दै आइरहेको थिएँ तर किन किन यहाँ भर्न संकोच लाग्यो । अहिलेसम्म मेरो तीन नाम छन् । न्वारानमा चरिनङ्ग्रे बाहुनले राखिदिएको एउटा । त्यसैको आधारमा बोलाउने नाम एउटा जो अहिले मेरो ब्राण्ड बनेको छ र अर्को नाम चाहिँ मेरो स्वर्गीय जिबाले राखिदिएका थिए कक्षा १ भर्ना हुँदा -जुन नाम मन नपरेर विद्रोह गरी एक वर्षसम्म म स्कुल गइनँ) । लाग्यो यी तीनवटै नामबाट अलग नाम राखुँ । सम्झेँ केही वर्षअघि एक साथीले जुराइदिएको मगर वापाले जुराइदिएको नाम पनि -जसलाई केही वर्ष एउटा म्यागेजिनको सम्पादकका रुपमा प्रयोग गरेको थिएँ) । त्यसमा पनि चित्त थामिएन र लागेँ एउटा नामको खोजीमा ।
लखन थापा । अपर्झट निर्णय तर उचित लाग्यो यो नाम । नेपालका प्रथम शहीद थिए लखन थापा । राज्यले मानेको छैन तर जनताले स्वीकारेका छन् । हो, यै नाम राख्ने । त्यसो त त्यही साताको कुनै दिन शहीद गेटमा टाफिक जाम हुँदा नजर जुधेको थियो त्यहाँ टाँगिएका प्रतिमूर्तिहरुसित । शहीदहरुको पंक्तिको सबैभन्दा शीरमा थियो कुनै शाह राजाको श्रीपेचधारी प्रतिमा । मलाई लाग्यो यो शहीद गेटले ब्यंग्य गरिरहेछ मलाई । शहीद तिनलाई भनिन्छ जसले देश जनताको भलोका लागि प्राण आहुति दिए तर ती शाह राजाले कति सालको कुन क्रान्तिमा त्यसरी प्राण उत्सर्ग गरेका थिए ? यस कौतुहलको प्रभावले पनि काम गर्यो यो नाम जुराउनमा ।
त्यसो त केही वर्षअघि कुनै कम्युनिष्ट पार्टीको सदस्य बन्नपर्दा टेक नाम राखेको थिएँ, लखन थापा । त्यतिखेर समय पनि संघर्षको थियो र मनमा एकसुर थियो मर्नैपरे लखन थापा नै हुँला । फेसबुकमा लखन थापा नाम दर्ज गरेपछि केही मित्रले मतिर प्रश्नको तोप तेस्र्याए । मित्र उत्तम सुनुवारले एक्काइसौँ शताब्दीको लखन थापा बन्नुहोला भन्नुभयो । हलुका प्रत्यूत्तर फर्काइदिएँ । पुराना कुरा त के भन्नु जस्तो लाग्यो । धर्मराज भूसालले यो बेला पनि छद्म नाम किन भन्नुभयो । कुनै जवाफ फर्काइनँ । भन्न त मन लाग्याथ्यो - अहिले पनि त चलेकै छन् बादल, किरण, प्रचण्ड, अनन्त, पासाङ आदि ।
लखन थापा नाम राख्नु पछाडि वा अगाडि कुनै कारण, महत्वकांक्षा र स्वार्थ छैन । त्यस्सै राख्या हुँ यो नाम । न लखन थापालाई बदनाम वा हलुका बनाउनका लागि हो न प्रचारप्रसार गराउनका लागि । लखन थापालाई राज्यले प्रथम शहीद घोषणा गर्नुपर्छ भनेर छाती ठोक्ने मध्येको एक चाहिँ ठान्छु आफूलाई । जहिले राज्यले लखनलाई पहिलो शहीद घोषणा गर्छ र सम्मान दिन्छ त्यसदिन मात्र उनको आत्माले शान्ति पाउने छ । नजिकिँदै गरेको १३३ औँ लखन स्मृति दिवसमा यही प्रण गरौँ - लखन थापालाई इतिहासले गरेको अन्यायलाई न्यायमा परिणत गरौँ ।
Tuesday, November 25, 2008
न्याय क्षेत्रका सर्वोच्च मगर
अञ्चल अदालतदेखि विशेष अदालत हुँदै सर्वोच्चसम्म अन्यायमा परेकालाई न्याय दिलाउँदै आउनुभएका तपबहादुर मगर, मगर समुदायबाट न्यायिक क्षेत्रको यति उच्च स्थानमा पुग्ने उहाँ पहिलो र ऐतिहासिक व्यक्तित्व हुनुहुन्छ ।
मगरका बराज्यू गोरखामा जिम्मूवाल हुनुहुन्थ्यो । गाउँघरमा मुद्दा मामिला मिलाउनुपर्ने भएकाले परिवारमा कानुनतिर चासो त हुने नै भयो । त्यसो त मगरका पिताले काठमाडौँमा जग्गा किन्दा मुद्दा पनि परेको थियो रे । यस्तो पृष्ठभूमिले मगरलाई कानुनी क्षेत्रमा डोर्यायो । "कानुन नजाने ठगिइन्छ, दुःख पाइन्छ भन्ने बाउ/बाजेले पनि जोड गरेका थिए" कानुन क्षेत्रमा प्रवेशको कारण खुलाउँदै मगर भन्नुहुन्छ ।
वि.सं २००३ मा ललितपुरको कोपुण्डोलको सामान्य परिवारमा तपबहादुर मगरको जन्म भएको हो । तपबहादुरले त्रिपद्म विद्याश्रम, मङ्गलबजारबाट प्रवेशिका उत्तीर्ण गर्नुभयो । त्यसपछि पाटन कलेज, पाटनढोकाबाट स्नातक गर्नुभयो । त्यसपछि शुरु भयो कानुनको अध्ययन । नेपाल ल कलेजबाट उहाँले बी.एल. गर्नुभयो । बी.एल.को नतीजा आइसक्दा लोकसेवा आयोग पनि खुलिसकेको थियो । हुन त प्रशासन सेवामा पनि आवेदन माग गरिएको थियो तर उहाँले न्याय सेवामा नै आवेदन गर्नुभयो । किन त ? कानुन पढेकाले आफूले अध्ययन गरेकै क्षेत्रमा जानुपर्छ भनेर’ मगरको जवाफ छ ।
२०२७ सालमा सर्वोच्च अदालतको शाखा अधिकृतबाट उहाँ न्याय सेवामा छिर्नुभएको थियो । त्यसपछि विशेष प्रहरी विभाग, मन्त्रालयहरू चाहार्दै उहाँ तत्कालीन अञ्चल अदालतमा अञ्चल न्यायाधीश बन्नुभयो । नारायणी अञ्चल अदालत, बाग्मती अञ्चल अदालतमा उहाँ न्यायाधीश बन्नुभयो । त्यतिञ्जेलमा उहाँ बढुवा भएर पुनरावदेन अदालतमा पुगिसक्नुभएको थियो । पुनरावेदन अदालत, पोखरा, जनकपुर, ललितपुरमा उहाँले काम गर्नुभयो । राजस्व न्यायाधीकरणको अवधारणा आएपछि उहाँलाई राजस्व न्यायाधीकरण विराटनगरको अध्यक्ष बनाइयो । त्यसपछि विशेष अदालतको अवधारणा अनुसार उहाँ विशेष अदालतको अध्यक्ष बन्नुभयो । विशेष अदालतको अध्यक्ष रहँदा कुनै समय शक्तिशाली रहेका मन्त्रीहरूको मुद्दामा गरेको फैसलाले उहाँलाई रातारात चर्चित बनाइदियो । शक्ति र पदको आडमा कुनै पनि व्यक्ति कानुनभन्दा माथि हुन सक्दैन भन्ने पाठ त्यतिबेलाको फैसलाले सबैलाई सिकाइदियो ।
विशेष अदालतपछि उहाँ पुनरावदेन अदालत, पाटनको मुख्य न्यायाधीश बन्नुभयो । त्यसपछि लगत्तै सर्वोच्च अदालतमा अस्थायी न्यायाधीश बन्नुभयो र पछि स्थायी पनि हुनुभयो । र, हालसम्म सर्वोच्च अदालतमै बहाल हुनुहुन्छ ।
न्याय क्षेत्र, न्यायाधीशका बारेमा बेलाबखत विवाद निस्कने गरे पनि उहाँले भने विवादरहित न्यायाधीश’ को छवि बनाउनुभएको छ । चाहे विशेष अदालतमा हुँदा होस् चाहे सर्वोच्च अदालतमा हुँदा नै किन नहोस् । निस्कलङ्क’ पात्र हुनुहुन्छ उहाँ ।
सर्वोच्च अदालतका न्यायाधीशहरूको ज्येष्ठताक्रममा आफूभन्दा कम उमेरका न्यायाधीश आफूभन्दा अगाडि परेकाले उहाँको प्रधान न्यायाधीश हुने पालो आउने सम्भावना कम छ । प्रधान न्यायाधीश बन्ने मेरो पालो छैन, पदमा बसुञ्जेल इमान्दारिपूर्वक कर्तव्य निर्वाह गर्दै न्याय दिने मेरो इच्छा छ’ मगरले भन्नुभयो ।
के यति लामो अवधिमा सम्पन्न गरिएकाले कामले आफूले न्याय दिलाउन सकेको छु भन्ने लागेको छ त ? मैले सबैलाई जानेबुझेसम्म र कानुनले दिएसम्म न्याय दिलाएको छु भन्ने लागेको छ’ आफ्नो कामप्रति पूर्ण आत्मसन्तुष्टी व्यक्त गर्दै उहाँ भन्नुहुन्छ ।
अबको तीन वर्षपछि उहाँ सर्वोच्च अदालतको न्यायाधीशबाट बाहिरिँदै हुनुहुन्छ - कानुनी क्षेत्रमा लामो अनुभवको भारी बोकेर । त्यसपछिको योजना के बनाउनु भएको छ त ? सर्वोच्च अदालतको स्थायी न्यायाधीशलाई सेवाकाशपछि अरूतिर काम गर्न संविधानले नै बन्देज लगाएको छ त्यसैले त्यति धेरै सोचेको छैन, न्याय क्षेत्रकै बारेमा लेख्ने, अनुसन्धान गर्ने गर्नुपर्ला’ उहाँ भन्नुहुन्छ ।
तपबहादुर मगरभित्रको पनि थापामगर हुनुहुन्छ । तर थापा भन्ने बित्तिकै क्षेत्री कि मगर भनेर सोधिने भएकाले प्रष्ट पहिचानका लागि मगर’ मात्र लेखेको उहाँ प्रष्ट्याउनुहुन्छ । त्यतिबेला अलि पढेलेखेका, सम्पन्न मगरहरूले आफ्नो जात फेरेर क्षेत्री बनेको इतिहासको कालो सन्दर्भ कोट्याउँदा उहाँ भन्नुहुन्छ, आफ्नो जात मेटाएर अरू लेख्ने इच्छा मलाई आएन, आफ्नो जे छ त्यसैमा गौरव गर्नुपर्छ भन्ने लाग्यो ।’
मगर करिब चार दशक लामो सेवाकालमा मगर जातिको भएकैले भेदभाव भने सहनु नपरेको उहाँ बताउनुहुन्छ । इमानदारीपूर्वक काम गरेपछि सबैले माया गर्दारहेछन्, मगर भएकैले अपहेलना सहनु परेको छैन’ उहाँको भोगाइ छ ।
सेवा अवधिमै उहाँले बेलायतको लण्डन युनिभर्सिटीबाट अन्तर्राष्ट्रिय कानुनमा पोस्ट ग्राजुयट पनि गर्नुभएको छ । बेलायत, थाइल्याण्ड, कोरिया भारत लगायतका देशको भ्रमण अनुभव पनि सङ्गाल्नुभएको छ ।
मगरका दुई छोरीमध्ये जेठी अहिले इन्जिनियरिङमा स्नातकोत्तर गरी अमेरिकामा कार्यरत् हुनुहुन्छ भने कान्छी पनि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट एमबीबीएस सकेर अहिले अमेरिकामा एमडी गर्दै हुनुहुन्छ ।
मगर समुदायका यी ऐतिहासिक र उदाहरणीय व्यक्तित्व मगर युवावर्गलाई के सुझाव दिन्छन् त ? इमानदार र लगनशील भएर आफू जुन क्षेत्रमा लागेको त्यसमा दत्तचित्त भइयो भने सफल हुन सकिन्छ, हेपिनु पनि पर्दैन’ उहाँको सुझाव छ कसैले दिइदियोस् तानिदियोस् भन्दा पनि हामी आफैँ अगाडि बढेर लाग्नुपर्छ ।’
जनताले दिएको भीसी
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiyTnDSSUfDst82dtKx5AjQT-NpRzUp3KHdf9Ac659idZGIE6fyIWQ3ol-hD9m2GwxeIUU-mWQQVDGAuyH0o03nqyJAaWJuqcSoOU-Nx75dd8aleFYZTi_7Esqig7O5bXrlRPxWmFGzkbe_/s400/tul.jpg)
".......त्यो तार देखेपछि हत्त न पत्त खुकुरी निकालेर तार झ्यामझुम्म पारिदिएर त्यो ढलेको मान्छेको गन तान्न लागेको त भित्रबाट फुत्त निस्क्यो र मलाई समात्न आयो । मैले हतियार बाहिरै फालेको थिएँ के’रे । हातमा त्यही तार काटेको खुकुरी थियो । मेरो पालो समात्न आएकालाई त्यही खुकुरीले सुइँक्याइदिएँ । एउटा चाहिँको टाउको च्याट्ट काटिदिएछु अर्कोको चाहिँ काँधमा कता परेछ । टाउको छिनेको चाहिँ ढलिहाल्यो अर्को चाहिँलाई तीन चोट हानेर ढालेँ । त्यसलाई हान्दाहान्दै त फेरि अर्को आएर ठाडै समात्न लाग्यो । मार , त्यसल्लाई पनि हानेर ढालेँ । अब तीन जनालाई ढालिसकेँ, उता दुलोबाट आएको आए गरे । जति आउँछन् खुकुरीले हान्दिन्छु जम्मै भक्लक्क पर्छन् ।"
दोस्रो विश्वयुद्ध सन् १९४४ मा मगाउँ, बर्मामा जापानसँग भएको युद्धमा तुलबहादुर पुनले यसरी लडेर भिक्टोरिया क्रस जितेका थिए । आफू बाँचेर मात्र होइन, दुस्मनलाई हराएर उनले भिक्टोरिया क्रस पाएका थिए । दर्जनौँ गोरा अफिसरलाई मृत्युको मुखबाट बचाएर मात्र होइन, बेलायतलाई युद्धमार्फत् महाशक्तिशाली बनाएर तुलबहादुर पुनले भिक्टोरिया क्रस पाएका थिए ।
भिक्टोरिया क्रस पाएको साढे छ दशकपछि भिसी पुन गतवर्ष पुनः एकाएक चर्चाको शिखरमा पुग्नुभयो - बेलायतबाट राष्ट्राध्यक्षले पाउने सम्मान पाएर । कुनै समय बेलायतको सेवक बनेका, दुर्गम गाउँमा जन्मेका सर्वसाधारण पुनले शाह, राणा खलकले पाउन नसकेको सम्मान पाए, बेलायती र नेपाली जनताको दबाबमा ।
भिक्टोरिया क्रस विजेता पुन म्याग्दीको बेगखोलामा सन् १९२३, २३ मार्चमा जन्मेका थिए । सन् १९४० सालको चौथो महिनाको १८ तारिखमा १८ वर्ष उमेर लेखाएर उनी गोरखा सैन्यमा भर्ती भएका थिए । पुनको आर्मी नम्बर १०११९ हो । बेलायती सेनाबाट अवकास पाएपछि पुन भूतपूर्व गोरखा सैनिकको हकहितका लागि संघर्षरत् थिए । गोरखा भूतपूर्व सैनिक संघ, गेसोका संरक्षक रहेका पुनले गोरखा सैनिकहरूको दर्जनौँ राष्ट्रिय/अन्तर्राष्ट्रिय कार्यक्रमको अध्यक्षता र आतिथ्य ग्रहण गरेका थिए । गोरखा सैनिकहरूको सडक संघर्ष, दूताबास घेराउ, जनप्रदर्शन लगायतका कार्यक्रममा भीसी पुनको अगुवाई रहने गरेको थियो ।
लामो समय पुन बेगखोलामा म्याग्दी सदरमुकामभन्दा बेनीबजारबाट एक दिन लाग्ने गर्दछ बसे । बढ्दो उमेरसँगै पुनलाई पनि रोगले च्याप्न थाल्यो । रक्तचाप, मधुमेह, आँखाको रोगले गाँज्यो । पुराना साथीभाइको तिर्सनाले पनि पिरोल्यो । त्यसैले पुनले नेपालमा भन्दा बेलायतमा -जहाँ उनले आफ्नो जीवनको सबैभन्दा उर्जाशील समय, १८ वर्ष खर्चेका थिए) मा आफ्नो उत्तम उपचार हुनसक्ने ठाने । र, बेलायतको आवासीय भिसाका लागि गत असोजमा काठमाडौँस्थित बेलायती दूताबासमा आवेदन दिए । तर बेलायती दूताबासले उनलाई घोर उपेक्षा गर्यो । जसले बेलायतलाई कहिल्यै घाम नअस्ताउने देशका रूपमा स्थापित गर्यो, जसले विश्वभर बेलायती साम्राज्यको सार्वभौमको रक्षा गर्यो र विगतमा बेलायती सरकारले उनको बहादुरिताको उच्च कदर गर्दै भिक्टोरिया क्रसजस्तो उच्च सम्मान प्रदान गर्यो त्यो योगदानलाई स्मरण गर्न बेलायती दूताबासले उचित सम्झेन । छ महिनासम्म उनको आवेदनमाथि कुनै प्रतिक्रिया व्यक्त नगरेर दूताबासले पुनको मात्र होइन, आफ्नै महारानीले दिएको भिक्टोरिया क्रसकै अपमान गर्यो । भिक्टोरिया क्रस विजेता सैनिकलाई बेलायती महारानीले समेत उठेर अभिवादन गर्दछिन् । त्यस्तो व्यक्तित्वलाई बेलायती दूताबासले बेलायतसँग दरिलो सम्बन्ध देखाउन नसकेको भन्दै आवासीय भिसा दिन इन्कार गर्यो ।
दूताबासले भिसा अस्वीकार गरेपछि पुनले बेलायती सरकारको यस्तो अपमानका विरुद्धमा मुद्दा लड्ने निधो गरे । बेलायतका वकिलहरूको कम्पनी होबे एण्ड कम्पनीबाट कानुनी परामर्शको सहारा लिएर बेलायतको इजाइलम एण्ड इमिग्रेसन ट्राइबुनल एआइटीमा पुनले मुद्दा दर्ता गरे । ट्राइबुनलले गत अगस्ट महिनामा उनको मुद्दाको सुनुवाई गर्ने मिति पनि तोकिसकेको थियो । बेलायती सञ्चारमाध्यमले भिसी पुनलाई भिसा अस्वीकार गरिएको खबर थाहा पायो र, क्षणभरमै सारा बेलायती जनता र विश्वभर आगोसरी फैलाइ दियो ।
बेलायतका साम्राज्य विस्तारका निमित्त ज्यानसम्म दिएका गोरखा सैनिकमाथि बेलायतले गरेको दुव्र्यबहार बेलायती जनतालाई थाहा भयो । उनीहरूले दुईसय वर्षदेखि गोरखाहरूमाथि बेलायतले गरिरहेको भेदभावबारे छर्लंग भए । र, बेलायतभित्रै नागरिकस्तरमा यस्तो अमानवीय रवैयाको प्रतिकार गर्ने सङ्कल्प लिए । फलस्वरूप एक साताभित्रैमा बेलायत सरकारको वेभसाइटमार्फत् १७ हजारभन्दा बढी बेलायती नागरिकहरूले भिसी पुनका पक्षमा र बेलायती सरकारको गलत कार्यको विपक्षमा प्रतिवद्धता जाहेर गरे । बेलायतका प्रवुद्ध व्यक्तित्वहरूले भिसी पुनलाई जस्तोसुकै हालतमा पनि अधिकार दिलाएरै छाड्ने अठोट लिए । बेलायतका भिक्टोरिया क्रस विशेषज्ञ लर्ड माइकल आस्क्रट, नायिका जोना लुम्ले, दोस्रो विश्वयुद्धका पुनका सहयोद्धा रोनाल्ड हेस्टिंस्की छोरी जे मिलर लगायतले भिसी पुनलाई अधिकार दिलाउन जस्तोसुकै मूल्य चुकाउन आफूहरू तयार रहेको प्रतिवद्धता व्यक्त गरे ।
बेलायतभित्र यस्तो जनदबाब बढेपछि बेलायती सरकारले अभियान शुरु भएको एकसाता नबित्दै आफ्नो पुरानो निर्णयमा पुनर्विचार गर्नुपरेको थियो । जुन १ मा बेलायती गृह मन्त्रालय र अध्यागमन मन्त्रालयले पुरानो निर्णयमाथि पुनर्निर्णय गरी भिसा दिने व्यवस्था मिलाएका थिए ।
बेलायत सरकारको सो निर्णयपछि भिसी पुनले भन्नुभएको थियो, "म आज सन् १९४४ मा भिसी पाएजति नै खुशी छु र म नेपालमा भएका अन्य भिसी तथा सम्पूर्ण गोरखाहरूले मैलेजस्तै अधिकार पाउनुपर्छ भन्ने लडाई जारी राख्नेछु ।"
बेलायती जनता, डेली मिरर पत्रिका, बेलायती वकिल र गेसोको अभियानका बलमा तुलबहादुर पुनले बेलायतको आवासीय भिसा पाउन सफल हुनुभयो । वास्तवमा पुनले आवासीय भिसा पाउनु व्यक्तिको मात्र सवाल थिएन, समग्र गोरखाली जातिमाथि दुईसय वर्षदेखि बेलायतद्वारा हुँदै आएको भेदभावको अन्त्य हुन लागेको कडी थियो ।
बेलायती जनताले पुनलाई भिसा मात्र दिएर नपुग्ने भन्दै बेलायत सरकारसँग विशेष व्यवस्थाका लागि आग्रह गरे । सोही दबाबमा बेलायत सरकारले पुनलाई राष्ट्राध्यक्षलाई दिइने सम्मान गार्ड अफ अनर दिने निर्णय गरेको थियो ।
बेलायती निर्णयलगत्तै पुन नेपालस्थित बेलायती दूताबासद्वारा बेलायत जान भिसा इन्कार गरिएका, नेपालमा कष्टप्रद अवस्थामा जीवनयापन गरिरहेका, सारा विश्वयुद्ध तथा विभिन्न युद्धका योद्धा, सम्पूर्ण गोरखा सैनिकका पक्षमा दबाब सिर्जना गर्न बेलायत प्रस्थान गर्नुभयो । पुनलाई लिन बेलायतबाट डेली मिरर पत्रिका पत्रकारहरू, होवे एण्ड कम्पनीका वकिलहरू, चिकित्सकहरू नेपाल आएका थिए । काठमाडौँदेखि दिल्लीसम्म गल्फ एयरबाट पुनलाई लगिएको थियो भने दिल्लीबाट हिथ्रोसम्म उहाँको टोलीलाई लाने व्यवस्था भर्जिन एटलाण्टिक एयरलाइन्सले मिलाएको थियो । जुन ४ मा बेलायतको हिथ्रो अन्तर्राष्ट्रिय विमानस्थलमा पुनलाई अति विशिष्ट सम्मान गार्ड अफ अनर प्रदान गरिएको थियो । पुन सवार विमान सो विमानस्थलमा अवतरण गर्दा सम्मानस्वरूप आधा घण्टासम्म अन्य विमानको आवागमन रोकिएको थियो ।
बेलायत पुगेका पुन बृद्ध उमेरमा पनि चुप बसेनन् । बेलायत पुगेर उनले आफूजस्तै दुःख पाएका सहयात्री गोरखाहरूका बारेमा चर्को श्वरमा आवाज उठाए । बेलायती प्रधानमन्त्री गोर्डन ब्राउनसँग पनि उनले भेट गरे । "हाम्रा सबै गोरखाली दाजुभाइले बेलायत आएर नोकरी गर्न, बसोबास गर्न र गोरासरह पेन्सन खान पाउनुपर्छ" बेलायती प्रधानमन्त्रीसमक्ष आफूले राखेको भनाइ जस्ताको तस्तै उहाँ सुनाउनुहुन्छ ।
"म एउटा गरिब देशको गरिब जनता, गरिबको छोरो ठूलो मान्छेसित बात गर्न सक्दैन, डराउँछ भन्ने सबैलाई लागेको थियो" बेलायती प्रधानमन्त्रीसित भेट्नअघि आफ्ना बारेमा अरूले यस्तैगरी सोचेको उहाँ आफैँ बताउनुहुन्छ । "तर मजस्ता गरिब गोरखा, जो बेलायतसम्म पुग्न अनेक कोसिस गर्दा पनि पाएका छैनन्, तिनका बारेमा मैले बोल्नैपर्छ भन्ने मलाई लाग्यो" पुनले भन्नुभयो । "जति पनि गोरखाहरू बेलायत आउन चाहन्छन् उनीहरूलाई बेलायत आउन दिनैपर्छ, पेन्सन, भत्ता, नोकरी पनि गोरासरह दिनैपर्छ, गरिब देशलाई सपार्न पनि पनि यस्ता कुरा दिनैपर्छ" बेलायती प्रधानमन्त्रीसित राखेका आफ्ना भनाइ उहाँले राख्नुभयो ।
नेपालका एक साधारण किसानका छोराले यसरी सो देशका राष्ट्राध्यक्षले समेत उठाउन नसकेको सवाललाई महाशक्तिसम्पन्न बेलायतका प्रधानमन्त्रीसँग निर्धक्कतासाथ राख्नुभयो । त्यतिखेर पुनलाई सकारात्मक जवाफ दिने बेलायती प्रधानमन्त्रीको सकारात्मक कार्य भने हेर्न बाँकी नै छ ।
म एउटा रिपोर्टर
राजधानीमा अहिले सञ्चारसित नाम गाँसिएका यस्ता दर्जर्नौँ क्लव, संस्था खुलेका छन् जसको व्यवसाय नै कार्यक्रम आयोजना गरिदिने बनेको छ । तैपनि कार्यक्रमको चाप घटेको जस्तो लाग्दैन । क्लवहरु उत्तिकै प्याक छन्, भएन होटलहरुलाई पनि कार्यक्रमले भरथेग गरेकै छ । अझ यतिले नपुगेर विवाह, व्रतबन्धका भोजभतेर खुवाउन भनेर खुलेका पार्टी प्यालेसहरुमा पनि कार्यक्रम भएकै छन् । कार्यक्रम आयोजक संस्थाकै कार्यालयमा पनि हुने गरेका छन् कतिपय कार्यक्रम त ।
कार्यक्रम प्रशस्त आयोजना हुनु समाचार संकलनको लागि राम्रै ठानिएला । अखबारको पाना भर्नलाई राम्रै टेवा पुर्याउला । सिकारु पत्रकारलाई पनि समाचार संकलनमा निखार ल्याउन रामै्र मौका मिल्ला । समय कटाउन कतै ठाउँ नपाएजस्तो सबै कार्यक्रममा भेटिने पत्रकार भनाउँदाहरु पनि अहिले निक्कै देखिन्छन् उनीहरुलाई चियाखाजा खर्च जोगाउन र दिन बिताउन पनि यस्ता कार्यक्रमले मनग्गे सहयोग गर्ला । कस्ता कार्यक्रम आयोजना गर्ने ? आफ्नो कार्यकक्षको क्षमता कति हो ? कति पत्रकार बोलाउने ? तस्वीर खिच्न, श्रव्यदृश्य कैद गर्न ठाउँ पुग्छ कि पुग्दैन ? रेडियोका समाचारदाताले आवाज रेकर्ड गर्न सक्ने वातावरण छ कि छैन ? समाचारदातालाई बस्न ठाउँ पुग्छ कि पुग्दैन यी सबै पक्षलाई ध्यान नदिई आयोजना गरेका देखिन्छन् धेरै कार्यक्रमहरु ।
बढ्दो कार्यक्रमको चाप एकातिर छ भने सञ्चारमाध्यमहरुमा पनि सीमित समाचारदाताको बाध्यता । एउटै समाचारदाताले चार/पाँच वटा कार्यक्रमको रिपोर्टिङ भ्याउनुपर्ने हुन्छ । कस्तो स्थानमा कार्यक्रम आयोजना गर्ने कक्ष बनाउने ? कुनै मापदण्ड छैन । कोही कार्यक्रम स्थल मान्छे मात्र छिर्न मिल्ने गल्लीभित्र हुन्छन् भने कोही चढ्दाचढ्दै सास फुलेर घाँँटीसम्म आउने गरी माथिल्लो तलामा । कोही चाहिँ मोवाइलको बत्ती बाल्दै छिचोल्नुपर्ने अँध्यारा कुनामा । तोकेको समयमा कार्यक्रम शुरु नहुने र ब्यस्त टाफिकका कारण समयमा पुग्न नसकिने समस्या पनि उस्तै छ ।
यी सबै समस्यालाई अलि सजिलो पारिदिएको छ चार पाङ्ग्रे मोटर र दुई पाङ्ग्रे साइकलको ठिमाहा सन्तान मोटरसाइकलले । समाचारदाताहरु, कोहीले हैसियतले धानेर त कोहीले बाध्यतावश ऋण सापटी, किस्ताबन्दी गरेरै भए पनि सेकेण्ड ह्याण्ड वा फस्ट हेयाण्ड मोटरसाइकल किनेका छन् । अझ हैसियत हुने केही समाचारदाताहरुले मोटर चढेरै समाचार संकलन गरेको पनि देख्न थालिएको छ । तर समाचारदाता बस्ने सीटक्षमता समेत वास्ता नगरी कार्यक्रम आयोजना गर्नेहरुले मोटर, मोटरसाइकल पार्किङका बारेमा सोच्ने त कुरै भएन ।
प्राय कार्यक्रम स्थल बाहिर निस्कदा सशुल्क पार्किङ नामको अर्को पसल खडा हुन्छ । सीमित आम्दानीमा धेरै व्यवस्थापन गर्नुपर्ने बाध्यता बोकेका समाचारदातालाई लुट्ने लाइन बसेका जस्ता देखिन्छन् पार्किङ सञ्चालकहरु । एउटा कार्यक्रममा हिँडेर पुग्ने भए पो । कति दिन त एकै ठाउँमा एकपछि अर्को कार्यक्रम भ्याउँदा सिंगो दिन नै बित्छ । उता पार्किङ सञ्चालकलाई भने त्यसदिन खुदो पल्टिन्छ । घण्टा-घण्टामा पार्किङको हिसाब जोड्दैमा । काठमाडौँँ मल, काठमाडौँँ प्लाजा, युनाइटेड वल्र्ड टेड सेण्टर, ललितपुर विशाल बजार जस्ता गगनचुम्बी महल ठड्याउनेहरु पनि समाचारदाताका अगाडि भिखारी झँै देखिन्छन् र हात थाप्छन् पार्किङ शुल्कको । आखिर तिनलाई के अपुग्दो छ र ?
त्यसो त कार्यक्रम आयोजकले हलको भाडा चुकाए पछि पार्किङको शुल्क त त्यसैमा समावेश हुनुपर्ने हो नि झ् कार्यक्रम आयोजकले पनि यतातिर ध्यान दिएको देखिँदैन उनीहरुलाई मतलब छ त केवल आफ्नो कार्यक्रमको समाचार छापिन्छ-छापिन्न, बज्छ-बज्दैन, देखाइन्छ-देखाइन्न ? महिनाको मुस्किलले तीन हजार रुपियाँ तनखा थाप्ने समाचारदातालाई दिनको पाँच ठाउँमा पार्किङ शुल्क तिर्नुपर्यो भने सिंगो तलब त त्यसैमा स्वाहा हुन्छ । केले खाने, केले घरबहाल तिर्ने, केले पेटोल भर्ने ? समाचारदाताको यस मर्ममा कसले ध्यान दिने ?
Saturday, November 22, 2008
माओवादीको गन्तव्य
| ||||||
| ||||||
Monday, November 17, 2008
के का लागि मरिरहेछन् गोरखाहरू ?
तालिवान व्रि्रोहीलाई तह लगाउन केहीवर्षेखि अफगानिस्तानमा अन्तर्राष्ट्रय सैनिक बल तैनाथ छ । बेलायती सेनाका जवान र्राईले त्यही बलका तर्फाट ड्यूटीमा खटिँदा दुस्मनको गोली खाई प्राण त्याग्नुपर्यो । मानव जीवनमा मृत्यु अनिवार्य छ तर अर्थहीन मृत्यु अनिवार्य छैन । सबै मृत्युको अर्थ पनि रहँदैन । तर बेलायती सेनामा करिब दुइ सयवर्षेखि मर्दै गरेका लाखौँ गोरखाहरू केका निम्ती मरे - युवराजको मृत्युले यस प्रश्नको जवाफ खोज्न झक्झक्याएको छ ।
नेपाली युवाहरूलाई कहिलेदेखि अन्य देशको सुरक्षा सेवामा भर्ती गर्न थालियो इतिहासकारहरूको अध्ययनको शीर्षक हो । सन् १८१५ देखि नेपाली युवालाई गोरखा भर्तीमा भर्ना गर्न थालिएको अभिलेख पाइएका छन् । तर गोरखा भर्तीका जानकारहरूको दाबी छ जहिले भारतीय उपमहाद्वीपमा बेलायतले कब्जा जमायो त्यहीबेलादेखि नेपालीहरूलाई विदेशी सैन्यमा भर्ना गरियो । गोरखाहरू पहिलो र दोस्रो विश्वयुद्धमा बेलायती साम्राज्य विस्तारका लागि मरे । ती दुइ महायुद्धमा कति नेपाली मरे त्यसको लेखाजोखा न सेवामा लाउने बेलायतसित छ न आफ्ना नागरिकलाई अरू देशको सेनामा भर्ती हुन पठाउने नेपालसित नै छ । इतिहासकारहरू भन्छन् - ती दुइ युद्धमा औसत एक लाखको दरमा नेपाली युवाहरू मरे ।
विश्वयुद्धहरू सकिएपछि मलायामा स्वतन्त्रता खोजिरहेका मलेसियनहरूसित लडे । आफ्नो भू-भाग फिर्ता लिन खोज्ने अर्जेण्टिनीहरूसित फोक्ल्याण्डमा लडे । कोसोभोमा सर्भियालीहरूसित लडे । इराकी राष्ट्रपति सद्दाम हुस्सेनलाई सत्ताबाट हुत्याउन इराकमा लडे । र, अहिले पनि लड्दैछन् अफगानी र इराकीहरूसित । नेपाल जसले तिब्बत र अंग्रेजबाहेक कसैसित बाह्य युद्ध लडेन । र, दुनियाँमा चिनिन्छ - शान्तिप्रिय देश । त्यही देशका नागरिकहरूले चाहिँ किन विश्वका यति धेरै मुलुकसित लड्नुपर्ने - किन यति धेरै देशका नागरिकसित लड्नुपर्ने - मलेसियनहरूसित नेपाली युवाको के दुस्मनी थियो - नेपालमा दिन हुँदा त्यहाँ रात हुने, झण्डै अर्कै विश्वका अर्जेण्टिनीहरूले नेपालको के खाइदिएका थिए - सद्धाम हुस्सेन र तालिवानसित नेपालीको वैरभाव केमा थियो -
अफगानिस्तानमा मात्र कामै गर्न नसक्नेगरी अङ्गभङ्ग भई बेलायतको बर्किङघममा उपचाररत् गोरखाहरू थुप्रै छन् । जसको नामावली बेलायतले र्सार्वजनिकसम्म गरेको छैन । आफ्नो अमूल्य ज्यानको साटोमा गोरखाहरूले 'बहादुर' उपनाम पाए । छाती ढाक्ने 'तक्मा' पाए । तर के आत्मसम्मान र स्वाभिमान पाए - नेपाल राष्ट्रले के पायो -
आफ्नै देशमा गरिखाने माहौल भए कोही नेपाली विदेशिने थिएनन् । र, मर्नुपर्ने थिएन विदेशका रणभूमि र गल्लीमा । गोरखा सैनिक त एउटा दृष्टान्त मात्र हुन् । अहिले विश्वका प्राय सबै कुनामा नेपालीहरू रोजगारको खोजीमा पुगिरहेका छन् । र, दिनहुँ अकालमा मरिरहेको समाचार पढ्नु/सुन्नु परिरहेको छ । यदि साँच्ची नै नयाँनेपाल बनाउने हो भने उत्पादनका अजस्र स्रोत युवाहरूलाई अरू देशको सेवामा पठाएर हुँदैन । आफ्ना नागरिकलाई देशभित्रै काम गर्न पाउने वातावरण हामीले कहिले बनाउने ?
Sunday, November 9, 2008
नसुधि्रएको परराष्टको मति
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhgtbgnp0rk8YBSPouYDhOtA1q1UC7fLfnx0zVf1r-5m7LlGQS9usK56egF40-zjaIjTdBv6bsR9AZ4ye-7ejk903niJ-cyoRJX7IgBE4VbrViOl2NkoigIQvlSPMw0V9bvSoMitzc_l8Y7/s400/pm+with+banglore+cm.jpg)
मैले पनि ब्लग खाेलेँ
ब्लगलाई ब्लग नै बनाउने सोचाइका साथ शुरु गरिएको छ । तपाईहरु सबैको सझावको अपेक्षा गदर्छु । म पनि अब ब्लगको दुनियाँमा भित्रिएको छु ।