जब हिउँद शुरु हुन्छ तब धेरै पक्ष र पाटा परिवर्तन हुन्छन् । गर्मी हट्छ, जाडो बढ्छ । दिन छोटि्टन्छ, रात तन्किन्छ । अरुबेला मात्तिएर सामुन्ने बसेकाको नाकको डाँडीनिरै ठडिने हात खल्तीभित्र लुक्छन् । प्रकृतिका यस्ता नियमितता भित्र नेपालमा केही सालयता नयाँ उपहार थपिएको छ । नेपालमा मौसम परिवर्तन भई हिउँद लागेको त्यतिबेला थाहा हुन्छ जतिबेला विद्युत आपूर्ति घट्न थाल्छ । चाड पर्व आएको महसूस त्यतिबेला हुन्छ जतिबेला बिजुली जाँदैन । बर्खा लागेको त्यतिबेला चाल पाइन्छ जतिबेला लाइन कम जान थाल्छ ।
सालभरिमा लाइन कति दिन जान्छ त्यसको हिसाबकिताब बिजुली अड्डासँगै होला । भविष्य यस्तो पनि देखिन्छ कि बिजुली कहिले जान्छ भन्दा पनि बिजुली कहिले आउँछ भनेर औँला भाँच्न परोस् । प्रविधिले मानिसलाई यान्त्रिकीकरणको चेपोमा हालिसकेको छ । अब मान्छे भएर केही काम छैन, मानिसहरू बेरोजगार हुन्छन् यदि बिजुली छैन भने । उद्योग कलकारखाना त परको कुरा । बिजुली छैन भात पाक्दैन । बिजुली छैन लुगाको मैला पखालिन्न । बिजुली छैन जीवन छैन । बिजुली छैन केही छैन ।
तर बिजुली नहुँदा बेफाइदाको ठेली मात्र थपिँदो रहेनछ । फाइदा पनि हुँदो रहेछ । त्यसो त नकारात्मक फाइदाको चाङ पनि हुवात्तै बढाउँछ लोडसेडिङले । कार्यालय सहायक -आजकल पियन भन्न पाइन्न) लाई हाकिमलाई चिया पकाउनै परेन । फोटोकपी गर्न परेन । कर्मचारीलाई आजको काम भोलि सार्ने बहाना सजिलो भो । छिटोछिटो कार्यालयबाट टाप कस्न पाइयो । समयमा काम फत्ते गर्न नसक्ने भोलिवादीहरूलाई ढुङ्गा खोज्दा द्यौता मिल्यो । काम थाल्नै बिर्सिरहेको बेलामा भन्न पाइयो - हेर्नुस् न काम सक्न अलिकति बाँकी थियो बत्ती गएर तुर्नै पाइएको छैन ।
त्यस्तो त धेरैलाई थाहा छ - बत्ती जाँदा चोरको पेशा अङ्गाल्नेको खुदो पल्टन्छ । सुरक्षाकर्मीलाई पनि बत्ती गएको बेला चोर आउन सक्छ आफनो सुरक्षा आफैँ गर्नु भन्यो, पञ्छियो । नभन्दै यही हप्ता यस पंक्तिकारको डेरासँगै जोडिएको घरमा पहिलो तल्लामाथि उक्लेरै चोरले पुगनपुग ३० हजारको नगद र मालताल कुम्ल्याएछ । मेरी एउटी मित्र छिन् जो बढी सुत्ने विधामा विश्व रेकर्ड राख्छुजस्तो गर्छिन् । उनी जस्ता कुम्भकर्णलाई पनि लोडसेडिङले अनुकूल बनाएकै होला । लोडसेडिङले मैनबत्ती, टुकीमारा, लालटिन, इमरजेन्सी लाइट, ब्याट्री, टर्चलाइट बेपारीलाई पनि सकत् फाइदा दिएकै छ । यसरी फाइदा लिनेको सूचीमा यो पंक्तिकार पनि छ । तर पंक्तिकार माथि उल्लिखित पेशामा भने आवद्ध छैन । ऊ न चोर हो, न सुताहा हो, न बैकल्पिक बत्ती बेपारी नै ।
बत्ती नभएको मौकामा मैनबत्तीको घुर्मैलो उज्यालो मुनी बसेर -कहिले सुतेर पनि) पंक्तिकारले चार दिनमा तीन वटा किताब छिचोल्यो । जनयुद्धका नायकहरू भन्ने त एकै बसाईमा खर्लप्पै पार्यो । प्रचण्डः एक अज्ञात विद्रोही, अब यस्तो कहिल्यै नहोस् सिध्याउन चाहिँ तीन दिन लगायो । त्यही समयमा काखे कम्प्युटरको सहयोग लिई दुइ वटा प्रस्ताव पनि तयार पार्यो । ब्लग र फेसबुकका सामग्री पनि यही मेसोमा तयार भए । बत्ती भएको भए यो समय टेलिभिजनको च्यानल तलमाथि गरेरै बित्ने थियो । भएन त काइदा -
आज दिउँसो अड्डामा एक सहकर्मीले लोडसेडिङको अर्को पनि फाइदा सुनाउनुभयो । उपत्यकामा घर ठड्याउन भ्याएका ती मित्रको भनाइ थियो - बत्ती जानाले मेरो घरको पानी ट्याङकी भरिन थालेको छ । अरुबेला छिमेकीले हाइपावरको मोटर चलाए पछि गहिरोमा भए पनि उनको ट्याङ्कीमा पानी तुर्किनै पाउँदैनथ्यो रे । भएन त फाइदा -
तपाईसित पनि लोडसेडिङबाट फाइदा लुट्ने कुनै काइदा छ भने आउनुस् आमोदप्रमोद गरौँ । बत्ती गएर बर्बाद भयो भनेर तालुमा हाल राख्ने होइन अब प्रतिकूलतामा अनुकूलता पहिल्याउन सिकौँ। लोडसेडिङबाट लाभ लिन सिकौँ, सकौँ । जलस्रोतमा विश्वको दोस्रो धनी हाम्रो देश -सधैँ रहिरहोस् । लोडसेडिङ -जिन्दावाद । लोडसेडिङ हामीलाई -प्राणभन्दा प्यारो छ ।
Subscribe to:
Post Comments (Atom)
1 comment:
delhi ma ta line nagako hunale yi sabai subidha lina bata banchit bhaiyo. alikati neta ra bidhut expert lai india tira export garna paye yenha pani ti subidha lina milthoyo ki tatakal ka lagi. banki ta aba 3 hafta pachhi nepal pharkinchha tyo subidha ko upayog utai garaunla hunna ra dr. naresh.
Post a Comment